पश्चिम नवलपरासी– जिल्लाको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी पदमुक्त भएकी छन् ।
निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै फातुमाको पद गएको जानकारी दिएको हो ।
०७९ को स्थानीय तह निर्वाचमा उनी काँग्रेसबाट पालिका अध्यक्ष निर्वाचित भएकी थिइन् ।
गत २१ फागुनमा सम्पन्न निर्वाचनमा फातुमा खुलेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव प्रचारमा हिंडेकी थिइन् ।
चुनावपछि काँग्रेसले राजनीतिक दलसम्बन्धी कानुनअनुसार फातुमालाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।
आयोगले सम्बन्धित दलबाट प्राप्त जानकारी र निर्णयका आधारमा निर्वाचित फातुमा पदमुक्त भएको जनाएको छ ।
अनुशासन समितिको सिफारिसमा काँग्रेसले पश्चिम नवलपरासीबाट फातुमासहित ४३ जनामाथि कारबाही गरेको थियो ।
लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री देवकरण कलवार, सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरी, बर्दघाट नगरपालिका–१० का वडाध्यक्ष राजु मिश्रलगायतबारे भने आयोगले निर्णय गर्न बाँकी छ ।




प्रतिक्रिया