काठमाण्डौं, १२ जेठ– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी कसुरमा फरार रहेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक जिबी राई कहिले पक्राउ पर्छन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै राईले सहकारी पीडितको रकम फिर्ता गराउन माग गरे ।
तर, सहकारी पीडिलाई जनताले तिरेको करबाट जम्मा भएको राज्य कोषबाट पैसा फिर्ता गर्न नमिल्ने बताए । राईले सरकारले सहकारी, बैंक वा अन्य व्यवसायीहरुले डुबाएको पैसा तिरिदिने नीति लिएको हो ? भन्दै प्रश्न गरे ।
उनले बाँदर व्यवस्थापनदेखि सुकुमबासी र अव्यवस्थित बसोबासीको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन गर्न माग गरे ।
‘बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ? सुकुमबासी र अव्यवस्थित बसोबासीको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार ? बिजी राई कहिले पक्राउ हुन्छ सरकार ? किसानहरुको समस्या समाधान व्यवहारमा हुन्छ कि सामाजिक सञ्जालमा मात्र हुन्छ सरकार ?’, उनले भने, ‘सहकारी पीडितले पैसा पाउनुपर्छ त्यसमा जोडदारका साथ हामी माग गर्दछौं । तर, जनताले तिरेको करबाट होइन । राज्य कोषबाट होइन । सहकारी, बैंक वा अन्य व्यवसायीहरुले डुबाएको पैसा सरकारले तिरिदिने नीति लिएको हो सरकार ?’




प्रतिक्रिया