दशौँ राष्ट्रिय खेलकुद : वाग्मती शीर्ष स्थानमा, कर्णाली पदकविहीन

दशौँ राष्ट्रिय खेलकुद : वाग्मती शीर्ष स्थानमा, कर्णाली पदकविहीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा वाग्मती प्रदेश शीर्ष स्थानमा रहेको छ । सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ ।

हालसम्म सम्पन्न विभिन्न खेलका आधारमा वाग्मतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ ।

प्रतियोगितामा कर्णालीले भने कुनै पनि विधामा पदक जित्न सकेको छैन ।

सहआयोजक प्रदेश नै पदकविहीन हुनुपर्ने अवस्थाबारे कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारीले पूर्णता पाउन नसक्दा अपेक्षित नतिजा हासिल हुन नसकेको बताए ।

पदक तालिकामा गैरआवासीय नेपाली संघ (एनआरएन) दोस्रो स्थानमा छ । एनआरएनले १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदक जितेको छ । त्यस्तै, त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कास्य गरी ५० पदक प्राप्त गरेको छ भने नेपाल पुलिस क्लबले आठ स्वर्ण, १५ रजत र १८ कास्य गरी ४१ पदक जितेको छ ।

यसैगरी, गण्डकीले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ, कोसीले चार स्वर्ण, एक रजत र एक कास्य गरी छ, सशस्त्र प्रहरी बल ९एपीएफ० ले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच, लुम्बिनीले दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ तथा सुदूरपश्चिमले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक जितेका छन् । मधेस प्रदेशले भने दुई कास्य पदकमात्र प्राप्त गरेको छ । कर्णालीको पदक सङ्ख्या शून्य छ ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत मंसिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायत खेल रूपमा सञ्चालन भइरहेका छन् । तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

पुलिस पुरुष फुटबलको सेमिफाइनलमा

प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा शनिबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

नेपाल पुलिसका सुजन बलाम्पाकी मगरले पहिलो हाफको अतिरिक्त समयको ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। खेलमा नेपाल पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र अभिषेक लामा तथा गण्डकीका सन्दीप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाएका थिए।

नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गर्दा गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।

आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा दोस्रो खेलमा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। यी खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।