आज १४ औं लोकतन्त्र दिवस :२५ जना नेपाली सपूतले जीवन वलिदान गरेका थिए


काठमाडौं – २०६२ साल चैत २६ गतेबाट सुरु भएको आन्दोलन २०६३ बैशाख ११ गते विघटित संसदको पुनस्थापनासंगै राजाको प्रत्यक्ष शासन व्यवस्थाको अन्त्य भएर लोकतन्त्र बहाल भएको थियो । (आज) बैशाख ११ अर्थात १४ औं लोकतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेको दिनलाई लोकतन्त्र दिवसको रुपमा स्मरण गर्ने गरिन्छ ।

सशस्त्र युद्ध गरिरहेको माओवादी र राजनीतक दलहरुका बीचमा १२ बुँदे सहमतिपछि भएको १९ दिने आन्दोलनले आजकै दिन राजतन्त्रको अन्त्य गरेको थियो । यही आन्दोलनमार्फत सशस्त्र जनयुद्ध गरिरहेको माओवादीको शान्ति प्रक्रियामा आगमन भएको हुँदा यो आन्दोलनको नेपाली राजनीतिमा विशेष महत्व रहेको छ ।
लोकतन्त्र स्थापनाको १४ बर्षमा संविधानको निर्माण, गणतन्त्रको घोषणा, संघीय, समावेशी र समानुपतिकको व्यवस्था भएका छन् ।

तात्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वा्चित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि नेपाली कांग्रेस, नेकपा एमालेसहितका तात्कालीन सात दल विघटित प्रतिनिधि सभा पुन :स्थापनालगायतका माग राखेर सडकमा ओर्लिएका थिए २०६२ साल चैतमा । राजनैतिक दल मात्र होइन सम्पूर्ण क्षेत्रका पेशाकर्मीहरु पनि आन्दोलनको अग्रमोर्चामा उत्रिएका थिए । उक्त आन्दोलन लोकतन्त्रका लागि नेपाली जनताको अभूतपूर्व प्रदर्शन थियो ।

त्यही एकताले राजा ज्ञानेन्द्र आफ्नो हातबाट सबै शक्ति र सत्ता जनतामा फर्काउन बाध्य भएका थिए । ०६२–६३ मा भएको जनआन्दोलनमा २५ जना नेपाली सपूतले जीवन वलिदान दिए भने सयौं घाइते भए । जसमध्यका केही घाइते अहिले पनि उपचारकै क्रममा छन् । २०६१ माघ १९ को शाही कू लगत्तैदेखि शुरु भएको आन्दोलनले गति लिदै २०६२ चैतदेखि निर्णायक चरणमा प्रवेश गरेको थियो ।

जनताको शान्तिपूर्ण आन्दोलनका अगाडि राजाले घुँडा टेकेका थिए भने त्यसपछि शुरु भएको लोकतान्त्रिक व्यवस्थाको अभ्यासमा तत्कालिन विद्रोही माओवादी समेत समाहित भएको थियो । लोकतन्त्र प्राप्तिको १२ वर्षको यस दौरानमा संविधान सभाका दुई दुई वटा निर्वाचन भए भने देशले संविधान सभा मार्फत नयाँ संविधान पनि प्राप्त गर्यो । देश संघीय लोकतान्त्रिक गणतान्त्रीक व्यवस्थाको अभ्यासमा अघि बढिरहेको छ । परिवर्तन संस्थागत भएपनि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुन नसक्दा जनताले परिवर्तन महशुष गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement