आज फेरि सिड्नीमा गुञ्जिँदैछ १९७४ एडी

आज फेरि सिड्नीमा गुञ्जिँदैछ १९७४ एडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केही वर्षअघि सिड्नीको एक साँझ नेपाली संगीतले भरिएको थियो। हजारौँ नेपाली एउटै ठाउँमा भेला भएका थिए र त्यही बजेको थियो-नेपाली रक ब्यान्ड १९७४ एडी। जहाँ हजारौं दर्शकहरूले गीतमा गाएका थिए, झुमेका थिए।

शनिबार फेरि सिड्नीमा नेपाली रकको आवाज गुञ्जिँदैछ। ‘यो मन त मेरो नेपाली हो’, ‘सम्बधन’, ‘परेलीमा’ लगायत गीत लिएर १९७४ एडी शनिबार सिड्नीको होर्डन पेभिलियनमा प्रस्तुत दिँदैछ।

पर्थबाट सुरु भएको रक यात्रा अष्ट्रेलिया टुर २०२६ अन्तर्गत ब्यान्डले पर्थ, क्यानबेरा, ब्रिस्बेन र न्युक्यासलमा प्रस्तुति दिइसकेको र शनिबार सिड्नी प्रस्तुति दिँदैछ।

अस्ट्रेलियामा १९७४ एडीका लागि सिड्नी नयाँ ठाउँ भने होइन। दुई वर्षअघि सिड्नीमै १९७४ एडीको संगीतमा हजारौं नेपाली झुमेका थिए। त्यही सम्झना बोकेर ब्यान्ड फेरि सिड्नी फर्किएको हो। आयोजकले यसपटकको कार्यक्रमलाई अघिल्लो सिड्नी कन्सर्टका सम्झनालाई नयाँ पुस्तासँग जोड्ने अवसरका रूपमा प्रस्तुत गरेको छ।

ब्यान्डका संस्थापक तथा बेसिस्ट निराकार याक्थुम्बाका लागि त्यो अनुभव अझै सम्झन्छन्। ‘सिड्नीमा अघिल्लो पटकको कार्यक्रम हाम्रो लागि निकै विशेष थियो। यति धेरै नेपाली एकै ठाउँमा भेला भएर हाम्रा गीतसँगै गाउनु र रमाउँदाको क्षण अझै ताजा छ,’ ती पल सम्झदै निरकारले भने, ‘त्यही माया र ऊर्जा फेरि महसुस गर्न आज सिड्नीमा प्रस्तुती दिन उत्साहित छौँ।’

सन् १९९४ मा स्थापना भएको १९७४ एडीले तीन दशकभन्दा लामो समयदेखि नेपाली रक संगीतमा आफ्नो छुट्टै पहिचान बनाएको छ। ब्यान्डका गीत नेपालमा एउटा पुस्तासँगै हुर्किए। क्यासेट र रेडियोबाट सुरु भएको यात्रा अहिले डिजिटल प्लेटफर्म हुँदै विभिन्न देशका शहरहरूमा गएर गीतसंगीत मार्फत् नेपाली जोडिरहेको छ।

ब्यान्डका गायक एड्रियन प्रधानका लागि पनि अस्ट्रेलियामा पुराना दर्शकसँग भेट्नु यो यात्राको अर्को महत्वपूर्ण क्षण हो।

‘हाम्रा गीत सुनेर हुर्किएको पुस्ता आज अस्ट्रेलियामा हुनुहन्छ। उहाँहरूकै अगाडि ती गीत फेरि गाउन पाउनु विशेष अनुभव हो,’ एड्रियन भन्छन्।

ब्यान्डका पर्कसनिस्ट सञ्जय श्रेष्ठका लागि भने अस्ट्रेलियाको यात्रा व्यक्तिगत रूपमा पनि विशेष छ। ‘सधैं विदेशमा नेपालीहरूसँग गएर जोडिन पाउँदा खुसी लाग्छ, एक्साइटेड हुन्छु। तर अस्ट्रेलिया झनै खास हुन्छ, किनकि मेरो ससुराली नै अस्ट्रेलिया हो, यहाँ आएर प्रस्तुती दिन पाउँदा झन् खुसी लाग्छ’, उनी भन्छन् ।

अस्ट्रेलियामा पढ्न, काम गर्न र भविष्य बनाउन आएका नेपालीहरूमाझ नेपाली गीत गाउन पाउनु, उनीहरूलाई नेपालसँगको सामिप्यता याद दिलाउँदै जोड्नु आफूहरूका लागि सधैं प्रतिक्षित पल हुने उनको भनाइ छ।

‘यहाँ धेरै नेपाली हुनुहुन्छ। उहाँहरूका बीचमा विदेशको भूमीमा आएर नेपाली गीत बजाउनु र सँगै गाउन पाउनु नै फरक किसिमको खुसी हो,’ उनी भन्छन्।

यसपटकको यात्रा पर्थबाट सुरु भएको हो। सिड्नीपछि अक्टोबर ५ मा मेलबर्नको क्राउन मेलबर्न र अक्टोबर ६ मा एडिलेडको हिन्डली सेन्ट म्युजिक हलमा ब्यान्डले प्रस्तुति दिँदैछ।

ब्यान्डका व्यवस्थापक अनुज कार्कीका अनुसार अस्ट्रेलियाका विभिन्न शहरमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष जोडिनु नै यो यात्राको मुख्य उद्देश्य हो। ‘हरेक शहरमा नेपाली दर्शकको आफ्नै ऊर्जा र माया छ,’ कार्की भन्छन्, ‘जहाँजहाँ नेपाली हुनुहुन्छ, उहाँहरूसम्म हाम्रो संगीत पुर्‍याउनु नै यो यात्राको मुख्य उद्देश्य हो। हरेक शहरको आफ्नै ऊर्जा छ, आफ्नै कथा छ। दर्शकसँग प्रत्यक्ष जोडिँदा कलाकारका लागि त्यो नै सबैभन्दा ठूलो कुरा हो,’ उनले भने ।

तीन दशकभन्दा लामो सांगीतिक यात्रा बोकेको १९७४ एडीका लागि सिड्नी कन्सर्ट पुराना दर्शकसँग पुनर्मिलन र नयाँ पुस्तासँग जोडिने अवसर भएको उनको बुझाइ छ।

युरोप टुर सकेर ब्यान्ड अष्ट्रेलिया टुरमा छ। यसअघि पर्थ, क्यानबेरा, ब्रिस्बेन र न्युक्यासल लगायत विभिन्न सहरहरूमा प्रस्तुती दिइसकेको छ।

हाल ब्यान्डमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह रहेका छन्।

‘रोटेपिङ’ को सहकार्यमा १९७४ एडीले युरोपका विभिन्न ठाउँमा सांगीतिक प्रस्तुति दिँदैछ।