म्याग्दी- अन्नपुर्ण गाउँपालिका ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक-कर्मचारीको संख्या बराबर रहेको छ ।
कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयको कक्षा १ र २ मा विद्यार्थी संख्या शून्य छ । विसं २०४० मा स्थापना भएको यस विद्यालयको बालकक्षामा एक जना र कक्षा ३ मा दुई जना विद्यार्थी छन् । शिक्षक कर्मचारीको संख्या पनि तीन नै रहेको छ ।
स्थायी दरबन्दीका शिक्षक शान्ति राम्जाली प्रधानाध्यापक, बालशिक्षा सहजकर्ता शिखा बोहोरा क्षेत्री र सुर्जना रोका सहयोगी रहेको छ । विद्यार्थीमध्ये जेसिका खड्का यसपालि बालकक्षामा भर्ना भएको हो भने नेलसन रोका र श्रीसा खड्का कक्षा २ उत्तीर्ण भएर कक्षा ३ मा भर्ना भएको हो ।
प्रधानाध्यापक राम्जालीले बसाइँसराइ बढ्दै र जन्मदर घट्दै गएकाले त्यसको असर विद्यालयमा देखिएको बताए । “विद्यालयको सेवा क्षेत्रमा पर्ने भालेबासमा १५ र कोप्चेपानीमा १० घरपरिवारको बसोबास छ”, उनले भने, “विसं २०७२ सम्म १५-२० जनासम्म विद्यार्थी थिए । नयाँ बच्चा जन्मने दर घटेको र बसाइँसराइ गरेर अन्यत्र जाने दर बढेकाले यस्तो समस्या भएको हो ।”
यसअघि विसं २०७५ मा कोप्चेपानीमा रहेको विद्यालय भवन कालीगण्डकीमा आएको बाढीले बगाएपछि भालेबासमा स्थानान्तरण गरिएको थियो । सुविधायुक्त भवन, शौचालय र बालमैत्री कक्षा भए पनि विद्यार्थी संख्या न्यून हुँदा विद्यालय सुनसान छ । विद्यार्थी संख्या कम भएकाले गत वर्ष गाउँपालिकाले एक जना शिक्षकको दरबन्दी कटौती गरेको थियो ।
स्थानीयवासी तुलाराम बुढाले बसाइँसराइकै कारण गाउँ रित्तिँदै गएकाले विद्यार्थी संख्या पनि कम हुँदै गएको बताए। “भालेबास र कोप्चेपानीको छिमेकी गाउँ गाडपार र काभ्रेमा पुग्न बालबालिकालाई करिब एक घण्टा पैदल हिँड्नुपर्छ”, उनले भने, “गाउँमा भएका विद्यार्थीलाई शिक्षाको अधिकारबाट वञ्चित हुन नदिन संख्या कम भए पनि विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ ।”
अन्नपूर्ण गाउँपालिकाअन्तर्गत रहेका ठाडा, किन्दु, स्वाँत, घराप, चित्रेका आधारभूत विद्यालयमा पनि विद्यार्थी संख्या न्यून छ । भौगोलिक विकटता र छरिएका बस्तीहरूमा भएका विद्यालयमा विद्यार्थी संख्या कम भएपछि कक्षा घटुवा, दरबन्दी व्यवस्थापन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।




प्रतिक्रिया