३३ केजी सुन काण्ड : एसएसपी लोहनीलाई कारबाहीबाट जोगाउन आईजीपी अर्याल नै सक्रिय


काठमाडौं– तस्करीको साढे ३३ केजी सुन काण्डमा मुछिएका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेस लोहनीलाई कारबाहीबाट जोगाउन आईजीपी प्रकाश अर्याल नै लागिपरेपछि अनुसन्धान नाटकमा मात्र सीमित हुने भएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार एसएसपी लोहनीले सुन तस्कर गोरे भन्ने चुडामणि उप्रेतीसँग भित्रभित्रै साँठगाँठ गरेको खुलिसकेको छ भने उनी अहिले गोरे गृहमन्त्रीको मान्छे भन्दै आईजीपीलाई गलत सूचना दिएर कारबाहीबाट उम्किन खोजेका छन् ।

एसएसपी लोहनीले तल्लो तहका प्रहरीलाई बलिको बोको बनाई आफू कारबाहीबाट बच्न लविङ गरेको थाहा पाएपछि गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले छानविन समितिसँग प्रत्यक्ष रिपोर्ट लिएर सक्रियता देखाएका छन् ।

अपराध महाशाखा जस्तो प्रहरीको इन्टेलिजेन्स इकाइको प्रमुखमा रहँदा पनि एसएसपी लोहनीमाथि नै अनुसन्धान हुनु राम्रो होइन । आफै अनुसन्धान र कारबाही गर्ने निकायका प्रमुख नै अनुसन्धानमा तानिएपछि महाशाखाको शाख गिरेको छ ।

उक्त सुन काण्डमा भरिया सनम शाक्यको हत्या भएपछि पनि सुन बरामद् नहुनु र मुख्य तस्करलाई पनि भगाइएका कारण प्रहरीको शंकास्पद भूमिका देखिएको भन्दै अनुसन्धान गर्न डिआईजी पुष्कल रेग्मीको संयोजकत्वमा छानविन समिती गठन भएको थियो । डिआईजी रेग्मीले केही समयपछि अवकाश पाउने भएको हुँदा जाने बेलामा किन एसएसपीलाई फसाउनु प¥यो भन्दै आईजीपी अर्यालले दवाव दिएपछि रेग्मी समस्यामा परेको स्रोतको दावी छ ।

तर, छानविन समितिका सदस्य एसएसपी बसन्त लामा यतिखेर मोरङमा बसेर अनुसन्धान गरिरहेका छन् । स्रोतका अनुसार सुन तस्करलाई भगाउन र निर्दोषलाई फसाउन एसएसपी लोहनीले मोरङका एसपी अरुण बिसीलाई पनि प्रयोग गरेको आशंका गरिएको छ । तस्करीको ३३ केजी सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएका भरिया शाक्यको फागुन १८ गते उर्लाबारीमा हत्या भएको थियो ।

अपराध महाशाखा र मोरङ प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा काभ्रेका टेकराज मल्ल, उर्लाबारीकै नरेन्द्र कार्की, मोहन काफ्ले र झापाका लाक्पा शेर्पालाई पक्राउ गरेको थियो । तर, उनीहरु निर्दोष रहेको र गोरेको डिजाइनमा फसाइएको रहस्य बाहिर आएपछि प्रहरीको मिलेमतो रहेको खुलेको थियो ।

सुन बोकेका भरियाको हत्या हुँदा समेत ३३ केजी सुन कहाँ छ भन्ने बारेमा अहिलेसम्म प्रहरीले सुईको पाउन नसक्नुलाई ठूलो कमजोरी वा प्रहरीकै संलग्नता रहेको स्पष्ट देखिन्छ ।

प्रहरी नियन्त्रणमा रहेका चार जनाले दिएको बयान र अनुसन्धानका क्रममा उक्त सुनका मालिक गोरे रहेको खुलिसकेको छ । गोरे प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement