काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीले पार्टीको जारी केन्द्रीय समिति बैठकमा उपमहासचिव योगेश भट्टराईलाई बोल्न रोक लगाएका छन् ।
ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्न खोज्दा भट्टराईमाथि बोल्न रोक लगाइएको हो ।
बैठकमा मौखिक धारणा राख्न समय मागेका भट्टराईले बोल्ने अवसर नपाएपछि आफूले तयार पारेको लिखित प्रस्ताव अध्यक्ष ओलीलाई बुझाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकमा सदस्यहरूलाई वर्णानुक्रमअनुसार बोल्ने समय दिइएको छ ।
यही प्रक्रियाअनुसार आफ्नो पालोमा बोल्नुपर्ने भएपछि भट्टराईले लिखित प्रस्तावमार्फत आफ्ना विषय अध्यक्षसमक्ष पुर्याएको एक केन्द्रीय सदस्यले बताए ।
‘उहाँले आफ्नो पालोमा कुरा राख्न खोज्नुभएको थियो । अध्यक्ष ओलीले दिनुभएन’, ती केन्द्रीय सदस्यले काठमाण्डु पाटीसँग भने, ‘बोल्न नपाएपछि भट्टराईले अध्यक्षलाई लिखित धारणा बुझाउनुभएको छ ।’
बैठकको सुरुवातमै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले ओलीको राजनीतिक प्रतिवेदनलाई समर्थन गरेका थिए ।
भट्टराईले बुझाएको लिखित प्रस्तावमा के–के विषय समेटिएका छन् भन्ने विवरण भने सार्वजनिक भएको छैन ।
बैठकमा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूको धारणा राख्ने क्रम जारी छ ।




प्रतिक्रिया