छोरा जन्माउनकै लागि ६ श्रीमती!


कविता उपाध्याय

रोल्पा- ‘बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्‍याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि ६ वटी श्रीमती विवाह गरेँ’, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षीय हित पुनले गर्वका साथ भने। हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका छन्। ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्को गर्दै ६ वटी श्रीमती भित्र्याएको बताए।

पुनको पहिलो विवाह १६ वर्ष हुँदा १४ वर्षीया किशोरीसँग भएको थियो। पहिली श्रीमतीबाट दुई छोरी जन्मिएपछि उनले छोराका लागि आफू ३० वर्षको हुँदा १७ वर्षीया किशोरीलाई दोस्री श्रीमतिको रुपमा भित्र्याए। उनीबाट सन्तान भएनन्। त्यसपछि उनले एकपछि अर्को गर्दै केही वर्षको फरकमा २०र२२ वर्षको उमेरका किशोरीलाई भित्र्याउने क्रम जारी रह्यो।

अहिले २२ वर्षीया युवतीलाई श्रीमतीका रुपमा ल्याएका पुनले पाँचौँ श्रीमतीका रुपमा ५६ वर्षको उमेरमा ५४ वर्षीया विधवा महिलासँग प्रेम विवाह गरेका थिए। उनीबाट पनि छोरा नभएपछि करीब एक वर्ष पहिले २१ वर्षीया युवतीलाई श्रीमतीका रुपमा भित्र्याएको उनको भनाइ छ।

छोरैका लागि ६ वटा विवाह गरेका उनको छैटौँ श्रीमतीबाट छोरा जन्माउने धोको त पूरा भयो तर जीवन भने सुखी हुन सकेको छैन। उनकी कान्छी श्रीमती चौबिसै घण्टा मदिरा सेवन गरी बेहोस हुने गरेपछि उनलाई मानसिक तनाव बढ्दै आएको छ, जसका कारण उनले कान्छी श्रीमतीलाई शारीरिक र मानसिक रुपमा यातना दिँदै आएका छन्। करीब चार महिनाको बच्चा धुरुधुरु रोइरहँदा पनि श्रीमतीले बच्चा सम्हाल्न नसक्ने गरी मदिरा सेवन गर्नुले उनलाई थप दुःखी र विक्षिप्त बनाएको छ।

‘दुई श्रीमतीको पोई, कुनाबसी रोई’ भने झैँ श्रीमतीले घर भरिँदा उनलाई शारीरिक तथा मानसिक रुपमा पीडा थपिँदै गए पनि यसको कुनै असर नभएको उनीले बताउछन्। यसरी एकमाथि अर्को सौता हाल्दै गएपछि केही वर्ष पहिले उनकी जेठी श्रीमतीले उनीविरुद्ध बहुविवाहको मुद्दा चलाइन्। जसका कारण उनीले साढे एक वर्षको जेल जीवनसमेत बिताइसकेका छन्। तर, जेलबाट निस्किएर पुनः विवाह गरेको बताउने पुनले विवाह गर्नु र छोड्नुलाई सामान्य रुपमा लिएको बुझिन्छ।

पुन ज्याला मजदूरी गरेर घर फर्कने बेला मदिरा सेवन गरेर श्रीमती एकतिर लड्नु र चार महिनाको बच्चा अर्को्तिर रोइरहनुले वरपरका छिमेकीलाई समेत हैरानी हुने गरेको छिमेकीले बताएका छन्। यसरी विवाह गरेका अन्य श्रीमतीले छोडे पनि उनका तीनवटी श्रीमती भने अहिले पनि उनकै संरक्षणमा फरक फरक स्थानमा बस्दै आएका छन्।

पितृसत्तात्मक सोच र चिन्तनमा जेलिएको हाम्रो समाज अझै पनि छोरीभन्दा छोरालाई प्राथमिकता दिँदै आएको छ। अर्को्तिर घरमा सौता भएको थाहा पाउँदापाउँदै एकपछि अर्को महिला सौताका रुपमा घरमा भित्रिनुले पनि महिलालाई कमजोर बनाउँदै लगेको अधिकारकर्मीहरुले बताएका छन्।

महिला विकास अधिकृत लोकेन्द्रा आचार्यका अनुसार महिलाले छोरा वा छोरी जन्माउनुमा उसको कुनै दोष हुँदैन। यसमा दुवैको समान जिम्मेवारी रहन्छ। महिलाकै कारणबाट छोरा नभएको सम्झनु राम्रो होइन। साथै यसरी मनपरी विवाह गर्नु र छोड्नुले श्रीमान् श्रीमतीलाई मात्र नभएर उनका छोराछोरीलाई समेत नकारात्मक असर पारेको हुन्छ भने जसका कारण निर्दोष बालबालिकाको बिचल्ली हुँदै गएको छ।

अर्को कुरा घरमा श्रीमती भएको देख्दादेख्दै बाबुको उमेरको पुरुषलाई श्रीमानका रुपमा स्वीकार्नु महिलाको मूर्खता भएको उनको भनाइ छ। ‘महिलाका पक्षमा कानून बनिरहँदा तथा कार्यान्वयन भइरहँदा यसरी महिला अधिकारको दुरुपयोग गर्नु वा आफ्नो कर्तव्य बोध नगर्नुले समाजलाई अमर्या्दित तथा दूषित बनाउन सक्छ’, उनले भनिन्, ‘कानून विपरीत कार्य गर्ने महिला होस् वा पुरुष दुवै सजायको भागेदार हुनुपर्छ। अञ्जानमा सौतामाथि पर्नु दुःखद पक्ष भए पनि जानाजान सौतामाथि, त्यो पनि पाँचौँ छैटौँ श्रीमतीका रुपमा भित्रिनु बिलकुलै राम्रो होइन।’

यस्तै जिल्ला अदालत रोल्पाका मेलमिलापकर्ता तिर्था आचार्यले आफ्नो अधिकार खोज्दै गर्दा अर्काको अधिकार हनन गर्ने जोकोहीलाई कानूनी कारबाही भयो भने मात्र यस किसिमको विकृति रोकिँदै जाने बताउँछिन। ‘एउटी महिला अर्की महिलामाथि सौता जानु वा वाचा कसम खाएर भित्र्याएकी श्रीमतीमाथि सौता हाल्नु दुवै गलत काम भएको हुँदा यस किसिमका गतिविधिमा संलग्न दुवैलाई कानूनी कारवाही हुनैपर्छ’, उनले भनिन्।

यसैगरी मनोसामाजिक विमर्शकर्ता भावना शर्माका अनुसार छोराछोरीको विवाह भइसक्दासम्म पनि बाबुले दोस्रो तेस्रो हुँदै क्रमशः श्रीमती भित्र्याउँदै जानुले श्रीमान्–श्रीमतीलाई मात्र नभई यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर सिङ्गो गाउँ समाज हुँदै राष्ट्रलाई पर्न जाने भएको हुँदा यस विषयमा सबै सचेत बन्न जरुरी छ। सजायका भागेदारलाई कानूनी कठघरामा नउभ्याएसम्म विकृति नरोकिँने उनको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस
Advertisement