९/११ आक्रमणको २५ वर्ष : आज पनि फैलिरहेको छ षड्यन्त्रका सिद्धान्त

९/११ आक्रमणको २५ वर्ष : आज पनि फैलिरहेको छ षड्यन्त्रका सिद्धान्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ११ सेप्टेम्बर २००१ मा भएको आतंकवादी हमला ‘९/११’ का नामले विश्वभर परिचित छ । पछिल्ला २५ वर्षमा उक्त भयावह हमलामाथि गहिरो अनुसन्धान र विश्लेषण भए पनि अमेरिकामा भएको आत्मघाती हमलासँग सम्बन्धित विभिन्न षड्यन्त्रका सिद्धान्तमा विश्वास गर्ने मानिस अझै धेरै छन् ।

११ सेप्टेम्बर २००१ मा इस्लामिक आतंकवादी संगठन अलकायदाले चारवटा यात्रुवाहक विमान अपहरण गरेको थियो । तीमध्ये दुईवटा विमानलाई न्यूयोर्क सहरस्थित वल्र्ड ट्रेड सेन्टरका ट्विन टावरमा ठोक्काइएको थियो । तेस्रो विमान वासिङ्टन डीसीबाहिर रहेको अमेरिकी रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनमा ठोक्काइएको थियो ।

चौथो विमान वासिङ्टनस्थित अमेरिकी संसद् भवन क्यापिटलतर्फ लगिँदै थियो भन्ने मानिन्छ । तर यात्रुहरूले अपहरणकारीलाई आफ्नो लक्ष्यसम्म पुग्न नदिन गरेको प्रयासपछि उक्त विमान पेन्सिलभेनियामा दुर्घटनाग्रस्त भएको थियो ।

आत्मघाती हमलाकारीहरूले त्यस दिन करिब ३ हजार मानिसको ज्यान लिएका थिए भने हजारौँ घाइते भएका थिए । हमलाका दृश्यहरू विश्वभर प्रत्यक्ष प्रसारणमार्फत देखिएका थिए ।

९/११ यस्तो घटना थियो, जसले आतंकवादको विषयमा मात्र होइन, षड्यन्त्रका सिद्धान्तको सन्दर्भमा पनि विश्वलाई परिवर्तन गरेको छ ।

इतिहासकार क्लाउस ओबरहाउसरले तथ्य जाँचकर्तासँगको अन्तर्वार्तामा भनेका छन्, ‘९/११ एउटा यस्तो निर्णायक घटना थियो, जसले धेरै कुराको सुरुवात गर्‍यो । समाजभर यस्ता बहसहरू भए, जुन यसअघि कहिल्यै भएका थिएनन् । यस्ता सुरक्षा चुनौतीहरू देखा परे, जससँग यसअघि कसैले सामना गर्नुपरेको थिएन ।’

नटिङ्घम विश्वविद्यालयका सामाजिक मनोविज्ञानका प्राध्यापक डेनियल जोली षड्यन्त्रका सिद्धान्तको सामाजिक प्रभावबारे अनुसन्धान गर्छन् । उनले भनेका छन्, ‘यस्ता घटनाका वरिपरि प्रायः षड्यन्त्रका सिद्धान्तहरू फैलिने गर्छन् । आज पनि विश्वकै शक्तिशाली देश यस्तो घटनाबाट पूर्ण रूपमा अनभिज्ञ कसरी रहन सक्छ भन्ने प्रश्न धेरैले उठाउने गरेका छन् । केही मानिसका लागि षड्यन्त्रका कथाहरूले त्यसको उत्तर दिने गर्छन् ।’

२०२३ को युगोभ सर्वेक्षणअनुसार पाँचमध्ये एक अमेरिकीले ९/११ आतंकवादी हमलाको पछाडि अमेरिकी सरकारको हात रहेको विश्वास गर्छन् । यस्तो दाबी दशकौँदेखि चलिआएको छ ।

जोलीका अनुसार यसले धेरै मानिसमा संस्था र सत्तामा रहेका व्यक्तिहरू प्रति अविश्वास रहेको देखाउँछ । यस मिथकलाई बल दिने एउटा षड्यन्त्रको कथनमा ट्विन टावर तथा वल्र्ड ट्रेड सेन्टरका अन्य भवन दुई यात्रुवाहक विमानको ठक्करबाट मात्र नभई नियन्त्रित विस्फोटमार्फत ढालिएको दाबी गरिन्छ ।

यो आरोप सामाजिक सञ्जालमा फैलिइरहेको मात्र छैन, वैज्ञानिकहरूको एउटा सानो समूहका दाबीमा पनि आधारित छ । उदाहरणका लागि टावरहरू ढल्ने क्रममा देखिएका धुवाँका तेर्सा बादलहरू तल्ला तलामा गरिएको नियन्त्रित विस्फोटको संकेत भएको उनीहरूको तर्क छ ।

तर घटनास्थलमा विस्फोटक पदार्थ वा बम भेटिएको कुनै प्रमाण छैन । नेसनल इन्स्टिच्युट अफ स्ट्यान्डड्र्स एन्ड टेक्नोलोजी (एनआईएसटी) ले गरेको अनुसन्धानले दुई यात्रुवाहक विमान ट्विन टावरमा ठोक्किएपछि लागेको आगो र त्यसबाट भवनहरू कसरी ढले भन्नेबारे व्याख्या गरेको छ । एनआईएसटीका अनुसार हमलाका भिडियोहरू पनि वैज्ञानिक प्रमाणसँग मेल खान्छन् ।

सामाजिक सञ्जालले मिथक र गलत सूचनाको तीव्र प्रसारमा योगदान पुर्‍याउँछन् । ११ सेप्टेम्बर २००१ अघि पनि सामाजिक सञ्जालको प्रारम्भिक स्वरूप अस्तित्वमा थियो, तर फेसबुकको आगमनसँगै २००४ पछि यसको व्यापक विस्तार भयो ।

अहिले इन्स्टाग्राम, ह्वाट्सएप, टेलिग्राम र युट्युबजस्ता प्लेटफर्म अर्बौँ मानिसले प्रयोग गर्छन् । यिनै माध्यमबाट गलत सूचना र षड्यन्त्रका कथाहरू फैलिने गर्छन् र ती सामग्री हटाउन प्लेटफर्महरूले सधैँ तत्काल कदम चाल्ने गरेका छैनन् ।

जोलीका अनुसार, ‘यी हाम्रो दैनिक सामग्रीको हिस्सा बन्छन्हा-म्रो फोनमा होस्, टिकटकमा होस् वा अन्य सामाजिक सञ्जालमा। त्यहाँ हामी निकै छिटो ‘र्‍याबिट होल’ मा पस्न सक्छौँ ।’

‘र्‍याबिट होलमा पस्नु’ भन्नाले कुनै विषयमा अत्यधिक गहिरो रुचि लिनु, एउटा लिङ्कबाट अर्को लिङ्कमा पुग्दै त्यस विषयमा झन् गहिरिँदै जानुलाई बुझिन्छ ।

९/११ वरिपरि फैलिएका षड्यन्त्रका सिद्धान्तमा एउटा विशेष समूहलाई केन्द्रमा राखिएको छ, त्यो हो यहूदी समुदाय । हमलाको पछाडि यहूदीहरू रहेको मिथक सामाजिक सञ्जालमा व्यापक रूपमा फैलाइएको छ । यो दाबी यहूदीहरू संसारमा प्रभुत्व जमाउन वा संसारलाई नियन्त्रण गर्न चाहन्छन् भन्ने पुरानो यहूदीविरोधी धारणासँग जोडिएको छ । तर यो षड्यन्त्रको सिद्धान्तलाई समर्थन गर्ने कुनै प्रमाण छैन ।

यहूदी, मुस्लिम तथा एलजीबीटीक्यू+ समुदायका केही समूहलाई उनीहरूले नगरेका अपराधका लागि समेत दोषी ठहराउने गरिन्छ । इतिहासभर विशेषगरी यहूदी समुदाय षड्यन्त्रका मिथकको केन्द्रमा रहने गरेको छ र यो प्रवृत्ति आज पनि कायम छ ।

९/११ पछिका २५ वर्षलाई केवल अमेरिकी विदेश नीति वा सैन्य इतिहासका रूपमा नभई मानवीय क्षतिको इतिहासका रूपमा समेत हेर्नुपर्ने निष्कर्षतर्फ संकेत गर्छ ।

न्यूयोर्कमा भएको आतंकवादी हमलापछि सुरु भएको एउटा युद्धले विश्वको सुरक्षा नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र सैन्य रणनीति परिवर्तन गर्‍यो । तर त्यसको मूल्य लाखौँ परिवारले आफ्ना सदस्य गुमाएर, करोडौँ मानिसले घरबार छाडेर र कैयौँ पुस्ताले युद्धको मानसिक तथा सामाजिक घाउ बोकेर चुकाउनुपरेको छ ।

९/११ पछि सुरु भएको २५ वर्षे अमेरिकी युद्धको सबैभन्दा ठूलो प्रश्न यही हो-आतंकवादविरुद्धको युद्धले विश्वलाई साँच्चै सुरक्षित बनायो कि युद्धकै अर्को लामो चक्र जन्मायो ?