नवौँ राष्ट्रिय खेलकुद : यी हुन नयाँ कीर्तिमान बनाउने १० खेलाडी


काठमाण्डु – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १० जना खेलाडीले नयाँ रेकर्ड कायम गरेका छन् । असोज २९ देखि पोखरामा सुरु भएको प्रतियोगितामा कात्तिक ३ सम्म आइपुग्दा विभिन्न १० जना खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन्।

सबैभन्दा बढी त्रिभुवन आर्मी क्लबका ६ जना खेलाडीले नयाँ कीर्तिमानसहित पदक आफ्नो पोल्टामा पार्न सफल भएका छन् । त्रिभुवन आर्मीकी सरस्वती चौधरी १०० मिटर महिलातर्फ १२.१३ सेकेन्डको नतिजा निकाल्दै नयाँ रेकर्ड बनाउन सफल भएकी छन्।

आर्मीकै जयरानी थारुले ४ सय मिटर महिला हर्डल्सतर्फ १ मिनेट ४.१३ सेकेन्डको नतिजा निकालेर नयाँ कीर्तिमान बनाएकी छन्। त्यस्तै ४ सय मिटर पुरुतर्फ आर्मीकै सोमबहादुर कुमालले ४७.९५ सेकेन्डसहित नयाँ कीर्तिमान बनाएका छन्।

आर्मीकै दीपक अधिकारीले १० हजार मिटर म्याराथनतर्फ ३० मिनेट १०.३ सेकेन्डको नतिजा निकाल्दै रेकर्ड बनाउन सफल भए । लङ जम्प महिलामा आर्मीकी जयरानी थारुले ५.५८ मिटरसहित नयाँ कीर्तिमान बनाइन् । अर्कातिर उनैले १०० मिटर महिला हर्डल्सतर्फ १५.१६ सेकेन्डसहित अर्को कीर्तिमान पनि आफ्नो नाममा लेखाइन् ।

एपीएफ क्लबकी रमिताकुमारी थारुले ४०० मिटर महिलातर्फ ५८.१० सेकेन्ड समय निकाल्दै कीर्तिमान बनाएकी छन् । त्यस्तै एपीएफकै सलिम देवानले लङ जम्प पुरुषतर्फ ७.६ मिटरसहित नयाँ रेकर्ड बनाउन सफल भए ।

ज्याभलिन थ्रोतर्फ नेपाल प्रहरी क्लबी चन्द्रकला लाम्गाधेले ४७.०६ मिटर निकाल्दै आफ्नो नाममा राष्ट्रिय कीर्तिमान बनाइन् । प्रदेशतर्फ कर्णालीका दुर्गाबहादुर थापा पनि अब्बल निस्किएका छन्। उनले ३०० मिटर स्टीपल चेसमा ८.५५.१९ समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement