ए डिभिजन लिग : खेल मिलेमतो गरे कडा कारवाही


काठमाडौँ – शनिबारदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा खेल मिलेमतो गरे कडा कारवाही हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाद्वारा गठित लिग कमिटीले खेल मिलोमतो रोक्न इन्ट्रिगिटी अधिकृतले विदेशमा तालीम लिएर आएको बताए ।

लिग संयोजक विज्ञानराज शर्माले भने, “हामीले लिग हुने दुवै मैदानमा सिसी क्यामेरा राख्नेछौँ, यस्तै अर्को क्यामेरा पनि हुनेछ, म्याच फिक्सिङ भए फिफा र एएफसीको नियमअनुसार कारवाही गर्छौँ ।” लिगका खेलहरु सातदोबाटोस्थित एन्फा मैदान र हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ ।

साङ्गीतिक प्रस्तुतिका साथ लिगको उद्घाटन हुने जानकारी एन्फाले दिएको छ । नेपालका चर्चित कलाकारको प्रस्तुति रहने उक्त साङ्गीतिक प्रस्तुति ४५ मिनेटको हुनेछ ।उद्घाटनका अवसरमा विश्व फुटबल महासङ्घ ९फिफा०का दक्षिण एशिया ‘रिजनल डेभलपमेन्ट अफिसर’ प्रिन्स रफस समेत नेपाल आउने एन्फाले जनाएको छ ।

टिकट मूल्य ५०० र २००

एन्फा महासचिव इन्द्रमान तुलाधरले हल्चोकमा हुने लिगका खेलहरुको टिकट मूल्य २०० र एन्फा कम्प्लेक्समा हुने खेलका लागि २०० र ५०० राखिएको जानकारी दिए ।

प्रिम्याच कन्फ्रेन्स

‘ए’ डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले लिगअघि शुक्रबार सबै १४ क्लबका प्रशिक्षकलाई राखेर ‘प्रि म्याच कन्फ्रेन्स’ आयोजना गरिने बताए । उनले यसबाट सबै क्लबलाई आफ्नो तयारी र लिगको टार्गेटको बारेमा जानकारी गराउने सकिने उनले जानकारी दिए ।

लिगको मार्केटिङ र प्रमोसन पार्टनरको रुपमा रहेको रामसार मिडियाले पल्सर बाइकसँग ‘ए’ डिभिजन लिगको लागि टाइटल स्पोनसरको सम्झौता गरिसकेको छ । सम्झौतापछि लिग पल्सर शहीद स्मारक ए डिभिजन लिगको नामबाट सञ्चालन हुनेछ ।

चार वर्षपछि हुन लागेको लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । लिगको दोस्रो खेल आइतबार सङ्कटा क्लब र सरस्वती क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुई खेलपछि नेपालले बङ्गलादेशमा हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागिता जनाउने भएपछि केही समयका लागि लिग स्थगित हुनेछ ।

रेलिगेसन नहुने लिग आगामी माघ १६ गतेसम्म हुनेछ । लिगमा १४ ’ए’ डिभिजन क्लबले खेल्ने छन् । जसमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब रहेका छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ ।

लिगको विजेताले रु ५० लाख पाउनेछ । यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने छन् । लिगको उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउने जनाएको छ । लिगको चौँथो टोलीले १५ लाख, पाँचौ टोलीले सात लाख र छैटौँले पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् ।

लिगको तयारीका लागि एन्फाले क्लबहरुलाई २० लाख उपलब्ध गराइसकेको छ । ’ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विसं २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।

‘रेलिगेशनबिना’को लिग

एन्फाका अनुसार नियमित ‘रेलिगेशनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपाली फुटबलको माहोल ल्याउन रेलिगेशनबिनाको लिग गर्न लागेको बताएको छ । एसियाली फुटलब सङ्घ (एफसी) र विश्व फुटबल महासङ्घ (फिफा)ले नेपालमा फूटबलको माहोल सिर्जना गर्न ‘ननरेलिगेशन’ लिग गर्न यसअघि नै अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement