बङ्गबन्धु गोल्डकप : ‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन


काठमाडौँ – पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपालले बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउने भएपछि लिगको खेलतालिका परिवर्तन गर्ने सहमति भएको थियो ।

‘ए’ डिभिजन लिग असोज १३ गतेदेखि शुरु हुँदैछ भने बङ्गबन्धु गोल्डकपमा नेपालको राष्ट्रिय टोलीले असोज १४ देखि २६ गतेसम्म सहभागिता जनाउनेछ । राष्ट्रिय टोलीका खेलाडीहरू ‘ए’ डिभिजनका छ क्लबमा आबद्ध छन् । बङ्गबन्धुमा सहभागिता जनाएसँगै लिग पनि जारी राख्दा ती क्लबलाई अप्ठेरो पर्र्ने क्लबले बताएपछि खेल तालिका परिवर्तन हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।

“बङ्गबन्धुमा नेपालले सहभागिता जनाउने वा नजनाउने निर्णय भइनसकेको अवस्थामा हामीले लिगको खेल तालिका सार्वजनिक गरेका हौँ । अब नेपालले सहभागिता सुनिश्चित गरेको अवस्थामा केही खेल तलमाथि हुनसक्छ” एन्फा महासचिव इन्द्रमान तुलाधरले भने ।

सहमतिअनुसार असोज १३ गतेदेखि शुरु हुने लिगको उद्घाटन खेल खेलाउने र बङ्गबन्धु गोल्डकप अवधिभर लिग स्थगित गर्ने निर्णय भएको छ । “असोज १३ गते उद्घाटन खेल खेलाउने निर्णय भएको छ, त्यसपछि राष्ट्रिय टोली बङ्गबन्धुमा सहभागी भइञ्जेल लिगका खेल स्थगित हुनेछ,’’ लिग संयोजक विज्ञानराज शर्माले भने ।

नेपाल बङ्गलादेशबाट फर्केलगत्तै लिग पुनः शुरु हुने र त्यसपछिका खेलमा कुनै परिवर्तन नहुने उहाँको भनाइ छ । “बङ्गबन्धु गोल्डकपमा नेपालको प्रदर्शन हेरेर लिगको खेल तालिकाको टुङ्गो लगाउने छौँ, नेपाल अघिल्ला चरण पार गर्न सफल भयो भने तालिका अलि बढी र पहिलो चरणबाटै नेपाल बाहिरिए थोरै मात्र खेल परिवर्तन हृुन्छन्”–उनले भने ।

‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा न्यूरोड टोली एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी भिड्नेछन् । आर्मीमा राष्ट्रिय टोलीका चार खेलाडी छन् । असोज १३ गते लिग खेलेको भोलिपल्टै आर्मीका खेलाडी विकेश कुथु, सुमन अर्याल, भरत खवास र नवयुग श्रेष्ठ राष्ट्रिय टोलीसँगै बङ्गलादेश जानेछन् ।

महासचिव तुलाधरका अनुसार ‘ए’ डिभिजन लिगको उद्घाटन गरेपछि बङ्गबन्धु गोल्डकप अवधिभरका लागि लिग स्थगित गर्ने वा राष्ट्रिय खेलाडी अनुबन्धन भएका छन् । क्लबबीचको खेल सञ्चालन गर्ने दुई विकल्पबारे छलफल भए पनि खेल तालिका परिवर्तन गर्न अधिकांश क्लबले प्रस्ताव गरेकाले सो निर्णय गरिएको हो ।

– कुमार चौलागाईं

प्रतिक्रिया दिनुहोस
Advertisement