रामेछाप र अछाममा आगलागी, घर र पसल जले

रामेछाप र अछाममा आगलागी, घर र पसल जले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रामेछाप र अछाममा आगलागी भएको छ । रामेछापको मन्थली नगरपालिका–११ गजपानीमा आगो लागेर दुई वटा घर जलेर नष्ट भएका छन् ।

फष्टबहादुर श्रेष्ठका दुई वटा घर जलेको र आगो निभाउने क्रममा घरधनी फष्टबहादुर र छिमेकी बुद्धीबहादुर श्रेष्ठ घाइते भएका छन् ।

आगालागीबाट घरमा रहेको नगद साढे ६ लाख, सुनचाँदी र अन्नपातरलत्ताकपडा जलेर नष्ट भएको प्रहरीको भनाइ छ । घरको भुइँ तलामा बाँधिएका २५ वटा खसीबाख्रा समेत मरेका छन् ।

त्यस्तै अछामको साँफेबगर बजारमा रहेको हाटबजारमा पनि आगलागी भएको छ । शनिबार बिहान हाटबजारमा आगलागी भएको र १० वटा पसल जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय प्रेम खड्काले सञ्चालन गरेको मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको हो ।

जिल्लामा दमकल नभएपछि आगो लागेको क्षेत्रमा रहेको एउटा पसल डोजरले भत्काएर आगो अरू घरमा सल्किन नदिएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विद्युत् सर्ट भएर सल्किएको आगो होटेलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको छ ।