आहा रारा गोल्डकप मंगलबारदेखि

आहा रारा गोल्डकप मंगलबारदेखि


काठमाण्डु- मंगलबारदेखि पोखरामा २४ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

आयोजक सहारा क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी र जर्सी सार्वजिनक गरिएको छ । प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।

१२ टोली सहभागी हुने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्ससहित ‘ए’ डिभिजन टोलीका साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन् ।

साथै आयोजना सहारा, एपीएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको यो संस्करणमा मनाङ मस्र्याङदी क्लब भने सहभागी हुने छैन । मनाङ ७ पटकको उपाधि विजेता टोली हो ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा प्रिक्वार्टरफाईनलका खेल हेर्न साधारणतर्फ १ सय र भीआईपीतर्फ २ सय रुपैयाँ टिकटदर तोकिएको छ । सेमिफाइनलमा साधारणतर्फ २ सय र भीआईपीतर्फ ४ सय रुपैयाँ टिकट लाग्नेछ ।

यस्तै, फाइनलका दिन साधारणतर्फ ३ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।