परराष्ट्रमा मन्त्री र सचिव दुवै महिला !

परराष्ट्रमा मन्त्री र सचिव दुवै महिला !


काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धन सरकारमा एउटा संयोग परेको छ, जसमा परराष्ट्र मन्त्रालयमा मन्त्री र सचिव दुवै महिला नै हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्रीको जिम्मेवारी नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवालाई दिएपछि परराष्ट्र मन्त्रालयको राजनीतिक र प्रशासनिक दुवै नेतृत्व महिलाको हातमा आएको छ ।

यसअघिदेखि नै परराष्ट्र मन्त्रालयको सचिवमा सेवा लम्साल कार्यरत छिन् । परराष्ट्र मन्त्रालयले महिला सचिव पाएको ७ महिनापछि मन्त्री पनि महिला नै पाएको छ । विगतमा महिलाले अवसरबाट वञ्चित हुनुपरेको नेपालमा अब परराष्ट्र मामिला सम्पूर्ण रूपमा महिला नेतृत्वको हातमा गएको छ । २०८० मंसिर २८ गते लम्साल परराष्ट्र सचिवमा बढुवा भएकी थिइन् ।

नेपाल–भारत सम्बन्ध विज्ञ नविता श्रीकान्तले कूटनीतिमा महिला नेतृत्व पाएकोमा नेपाललाई बधाई सन्देश पठाउँदै दक्षिण एसियाबाट अन्तर्राष्ट्रिय बेन्चमार्क तय हुने बताएकी छन् ।

मन्त्री देउवा तेस्रोपटक सांसद भएर पहिलोपटक मन्त्री भएकी हुन् । २०६४ र २०७० सालमा समानुपातिकबाट सांसद भएकी उनी पछिल्लोपटक पनि समानुपातिकबाटै सांसद भएकी हुन् । २०७४ साल प्रत्यक्ष चुनाव लड्दा उनले पराजित हुनुपरेको थियो ।

पछिल्लोपटक नेपाली कांग्रेस र एमालेलाई मिलाएर नयाँ गठबन्धन बनाउन मन्त्री आरजुले भूमिका खेलेको बताइन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजु शक्तिकेन्द्रबाट नियुक्ति, सरुवा, बढुवा, आयोजना लगायतबाट लाभ लिने मामिलामा सक्रिय रहने गरेको आरोप लाग्छ । यसपालि उनी मन्त्रिपरिषद्मै प्रवेश गरेकी छन् ।