काठमाण्डु – भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् ।
सोमबार साँझ भएको भेटमा द्विपक्षीय सहयोगलाई मजबुत बनाउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मन्त्री देउवाले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छन् ।
भेटमा भारतको तर्फबाट भारतीय सुरक्षा सल्लाहकार अजित डोबाल, विदेश सचिव विक्रम मिश्री, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव तथा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव भिर्गु ढुंगाना, भारतका लागि नेपाली कार्यबाहक राजदूत सुरेन्द्र थापा, मिनिस्टर काउन्सिल दुर्पदा सापकोटा लगायत सहभागी थिए ।
मोदीसँगको भेटपछि मन्त्री देउवाले भनिन्, ‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रूपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’
प्रतिक्रिया