भुटानी शरणार्थी प्रकरण : आरजु राणा र मञ्जु खाँणको बचाउमा कांग्रेसले लगायो पूरै शक्ति !


काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र पूर्व गृहमन्त्री बालकृष्ण खाँणपत्नी मञ्जु खाँणको नाम विभिन्न माध्यमबाट जोडिएर आएको छ ।

सामाजिक सञ्जालमा आएको अडियो ‘फेक’ भएको भन्दै नेत्री राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । साइबर ब्युरोमा अडियो छानबिनकै क्रममा रहेको र यथार्थ बाहिर आइनसकेको अवस्थामा नेपाली कांग्रेस भने पूरै शक्ति लगाएर बचाउमा उत्रिएको छ ।

हिजो सोमबारसम्म भातृ संगठनहरूले बचाउमा विज्ञप्तिबाजी गरिरहेका बेला आज मंगलबार पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महत नै बचाउमा उत्रिएका छन् । पार्टीका प्रवक्ता डा. महतले नेत्रीद्वयमाथि सामाजिक सञ्जालमा ‘मिडिया ट्रायल’ भइरहेको आरोप लगाएका छन् ।

कांग्रेसले मंगलवार पत्रकार सम्मेलन नै गरेर आरजु र मञ्जुको बचाउ गरेको हो । पत्रकार सम्मेलनमा डा. महतले भने, ‘को कहाँ छन् ? कहाँ गए ? के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन । उहाँहरूमाथि मिडिया ट्रायल भइराख्या छ । डा. आरजु आफैंले प्रतिरक्षा गरिराख्नुभएको छ । न उहाँ आरोपित हो, न प्रमाणित छ ।’

पत्रकार सम्मेलनमा महतले नेत्रीद्वय आरजु र मञ्जुको बारेमा बोलिएको अडियो नक्कली भएको दाबी समेत गरे । प्रहरीमा पुगेको अडियो अनुसन्धानकै क्रममा रहेको छ ।

‘यस्तो आयो भनेर सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी हो भन्नुभएन । यसमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । आरजु आफैंले साइबर ब्युरोमा नक्कली हो भनेर निवेदन दिनुभएको छ । छानबिन होस् भन्नुभएको छ । पहिल्यै यस्तो–उस्तो भनेर सामाजिक सञ्जाल लगायत मिडियामा दोषी जसरी प्रस्तुत गर्नु राम्रो कुरा भएन । यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ । हामीलाई पूरा विश्वास छ – अडियो प्रकरण झुटो र नक्कली हो ।’

कांग्रेस पार्टीले नै पत्रकार सम्मेलनमा आरजु र मञ्जुको बचाउ गर्नुअघि सोमबार नेपाल महिला संघले पनि प्रेस विज्ञप्ति जारी गरेर आरजुको बचाउ गरेको थियो ।

नेपाल महिला संघकी अध्यक्ष उषा रावत मिश्रले सोमवार विज्ञप्ति जारी गर्दै प्रहरीले अनुसन्धान गरिरहेको घटना नेपालको प्रतिष्ठासँगै जोडिएकाले यसमा संलग्नहरूलाई कडा कारबाही गर्नुपर्छ भन्दै डा. राणा आफैंले संसद् तथा अन्य सार्वजनिक मञ्चहरूमा आफ्ना भनाइ राखिरहेको अवस्थामा उनको संलग्नता भएको जस्ता आधारहीन प्रचार गर्नु अन्याय रहेको बताएकी छन् ।

‘आरजुका बारेमा आएका समाचारले समाजमा भ्रम सिर्जना गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता खाले आधारहीन दुष्प्रचार र महिला नेताहरूमाथि हुने गरेको राजनीतिक हिंसा हिंसाहरू तुरुन्त बन्द गर्न अनुरोध गरिन्छ ।’

महिला संघको विज्ञप्तिमा यसरी कसैको चरित्र हत्या गर्ने गरी समाचार सम्प्रेषण नगर्न तथा सत्यतथ्य एवं वस्तुनिष्ठ हुन सबै सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।

अडियोमार्फत नाम मुछिएपछि डा. आरजुले सार्वजनिक रूपमै प्रतिवाद गरिरहेकी छन् भने मञ्जु खाँण सम्पर्कविहीन छन् । पति बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरे पनि उनी थुनामा भेट्न समेत नआएकी बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement