एसीसी यू-१६ : नेपालले मलेसियालाई हराउँदै उपाधि जित्यो


काठमाडौँ – नेपाली युवा क्रिकेट टोलीले एसिसी १६ वर्षमुनि (यू-१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ ।  थाइल्याण्डको चियाङमाईमा आइतबार भएको फाइनल खेलमा नेपालले मलेशियालाई ५९ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै नेपालको यो लगातार दोस्रो उपाधि हो । गत संस्करणमा भएको फाइनलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई जितका लागि १४१ रनको चुनौती दिएको थियो । जवाफमा मलेशिया ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटियो । मलेशियाका लागि वान महमद अजमले सर्वाधिक १६, महमद हाजिक आइमनले १८ तथा जिनेन्द्र मुरालेले १४ रन बनाए । मलेशियालाई सस्तैमा समेट्ने क्रममा नेपालका विशालकुमार पटेल एक्लैले चार विकेट लिए भने दीपक बोहोराले तीन विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो । नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोडे । यस्तै दीपक बोहोराले २३, कप्तान विशालविक्रम केसीले १७ तथा निखिलकुमार सिंहले १३ रन जोडे ।

बलिङतर्फ मलेशियाका सचिनु हित्तेजले तीन तथा जिनेन्द्र मुरालेले दुई विकेट लिए । समूह चरणको खेलमा पनि नेपालले मलेशियालाई ३९ रनले पराजित गरेको थियो । प्रतियोगितामा सिङ्गापुर तेस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement