काठमाण्डु – मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनल शनिबार हुँदैछ । नेपालले फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गरिरहेको छ ।
युएइ विरूद्व नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। वायुमास ओभलमा जारी खेलमा नेपालले प्लेइिङ–११ मा दुई जना खेलाडी परिवर्तन गरेको छ। यसअघि सेमिफाइनल खेलमा प्लेइिङ–११ मा रहेका देव खनाल र शेर मल्लको स्थानमा आज नेपालले सन्दीप जोरा र अर्जुन कुमाललाई मौका दिएको छ।
एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका छ। युएईलाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ।
नेपाल सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको एसिसी प्रिमियर कप च्याम्पियन टोली थियो। सन् २०२४ मा आयोजना भएको प्रिमियर कप टी–२० शैलीमा खेलाइएको थियो।
यसपटक भने सानदार पुनरागमन गर्दै नेपालले फाइनलमा स्थान बनाइसकेको छ।
पहिलो संस्करणको उपाधि जित्ने क्रममा नेपालले फाइनलमा युएईलाई सात विकेटले हराएको थियो। नेपाली टोली फेरि तीन वर्षअघिको इतिहास दोहोर्याउँदै दोस्रो पटक एकदिवसीय प्रारूपको एसिसी प्रिमियर कपको उपाधि जित्ने योजनामा छ।
सन् २०२४ मा आयोजित त्यस संस्करणको प्रिमियर कपमा ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो।
युएईले जारी संस्करणमा सानदार प्रदर्शन गर्दै नेपालसँगको उपाधि भेट पक्का गरिसकेको छ। उसले समूह चरणको चार वटै खेलमा एकतर्फी जित निकालेको थियो।
सेमिफाइनलमा युएईले हङकङलाई सात विकेटले हराएको थियो। युएई अब फाइनलमा पनि आफ्नो आफ्नो लय जारी राख्ने सोचमा छ। यद्यपि विश्वस्तरीय बलिङ रहेको नेपालविरुद्ध जित निकाल्न युएईलाई सहज हुने छैन।
समूह चरणमा हङकङबाहेक नेपालले तीनवटा खेलमा सानदार जित दर्ता गरेको थियो। सेमिफाइनलमा ओमानविरुद्ध नेपालको बलिङ प्रदर्शन थप उच्कृष्ट रह्यो।
नेपाल अब युएईविरुद्ध पनि जित निकालेर दोस्रो पटक एसिया कपमा स्थान बनाउन चाहन्छ। एसिसी प्रिमियर कप २०२६ मा तुलनात्मक रूपमा युएई नेपालको सर्वाधिक कठिन प्रतिद्वन्द्वी हो।
युएईको टोलीमा अधिकांश नयाँ खेलाडी छन्। उनीहरूभन्दा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडी अनभवी छन्। नेपालले फाइनलमा त्यसको फाइदा उठाउनसक्नुपर्ने क्रिकेटर विश्लेषकको भनाइ छ।
एकदिवसीय अन्तरराष्ट्रियमा हालसम्म नेपाल र युएईबीच १९ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा नेपालले ११ र युएईले ८ खेलमा जित निकालेको इतिहास छ।
युएईसँग खेलिएको पछिल्लो पाँच एकदिवसीय खेलमध्ये नेपाल तीन खेलमा विजयी भएको छ। नेपालले युएईविरुद्ध अन्तिमपटक गत मे महिनामा खेलेको थियो।
उक्त आइसिसी विश्वकप लिग–२ शृङ्खलाको खेलमा नेपाल छ रनले विजयी भयो। सोही शृङ्खलाको पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले हराएको थियो। नेपाल सोही प्रदर्शन शनिबार हुने फाइनलमा पनि कायमै राख्ने योजनामा छ।




प्रतिक्रिया