नयाँ वर्षको पहिलो दिन : दुर्घटनामा परी ६ जनाको मृत्यु, दर्जनौं घाइते


काठमाडौं – आजदेखि नयाँ वर्ष २०७६ प्रारम्भ भएको छ । विसं २०७५ को बिदाइ र नयाँ वर्ष २०७६ को स्वागतमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरिँदैछ ।

नयाँ वर्ष २०७६ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका नेताहरुले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

सरकारले पनि नयाँ वर्षको उपलक्ष्यमा आइतबार नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थालगायत सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

तर, पहिले–पहिलेको जस्तो यो नयाँ वर्ष भएन । दिनको १२ घण्टा पनि बित्न नपाउँदै छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।

नयाँ वर्षको सुरुवातमा सुरुमा सर्लाहीको लालबन्दीमा बिहान सवा पाँच बजे बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो । घटनामा करिब ३० जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बगवानीको जंगलमा बा३ख १३१८ नम्बरको बस पल्टिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । उक्त बस (रिजर्भ) मा काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको थियो ।

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेहरुमा सुनसरी र मोरङका अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरी छन् ।

घाइते ३१ घाइते ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको विराटनगरमा उपचार भइरहेको तथा सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै बिहान ९ः ३० बजेतिर सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा ३ जनाको मृत्यु भयो ।

लुक्लाबाट काठमाडौं आउनका लागि समिट एयरको जहाजले टेकअप लिन खोज्दा धावनमार्गमा चिप्लिएर लुक्ला विमानस्थलमा पार्किङ्मा रहेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको थियो ।

समिटि एयरका सहचालक एस. ढुंगाना र विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । अर्का एक सुरक्षाकर्मी रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको हो ।

जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन् । हेलिकप्टर दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement