छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु


काठमाण्डु – म्याग्दी र प्युठानमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–७ गैराबारी भन्ने स्थानमा लु२प ६११२ नम्बरको टिपर शनिबार बिहान दुर्घटना हुँदा टिपरमा सवार दाङ लमही नगरपालिका–८ उसानिबु बस्ने ३५ वर्षीय बिरु चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ३ जनामध्ये टिपरका चालक र सहचालकलाई प्राथमिक स्वास्थ्य केन्द्र चिमखोला हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चिमखोलामा उपचार भइरहेको छ ।

प्युठानको माण्डवी गाउँपालिका–१ मुर्कुटी छबिसे चौरस्थित सडकमा घोराहीबाट प्युठानतर्फ जाँदै गरेको रा५प १५२८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २७ वर्षीय बिमल डागीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि नेपालगंजतर्फ रिफर गरिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement