छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु


काठमाण्डु – देशभर विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

कालिकोटको शुभकालिका गाउँपालिका–२ छातीस्थित सडकमा क प्र ०२००१ क ०१२९ नम्बरको स्काइभेटर सडकबाट करीब १ किलोमिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा स्काइभेटरका सहचालक शुभकालिका गाउँपालिका–१ छाती बस्ने २४ वर्षीय दलबहादुर रिजालको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका स्काइभेटर चालकलाई उपचारको लागि सुर्खेत पठाइएको छ ।

भोजपुरको आमचोक गाउँपालिका–८ पारकवामा बांलखाबाट मैयुङटारतर्फ जाँदै गरेको को१ज २६१७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करीब २०० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा आमचोक गाउँपालिका–१० बस्ने २७ वर्षीया रूना राईको घटनास्थलमै र गम्भीर घाइते भएकी सुनसरी धरान उपमहानगरपालिका–५ बस्ने ३६ वर्षीया शान्ती राईको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाँकेको खजुरा गाउँपालिका–७ सिमलघारीस्थित सडकमा लु४त ४५७५ नम्बरको ट्रयाक्टरले किचेर स्थानीय धिरेन्द्र शाहीकी छोरी ३ वर्षीया हिमान्सी शाहीको सोमबार दिउँसो मृत्यु भएको छ ।

ट्रयाक्टरले किचेर गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement