काठमाण्डु-बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दशरथचन्द नगरपालिका–३ डुवापानीमा से १ ज ३२० नम्बरको जिप सडकबाट खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् ।
जिपमा ८ जना सवार थिए । अन्य २ जना सकुसल छन् । सामान्य घाइते ५ जना जिल्ला अस्पतालमा उपचारपछि राति नै घर फर्किएका थिए ।
गम्भीर घाइते दिलिप नाथलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ । उनको हात र पिठ्युमा चोट लागेको छ ।
दुर्घटनामा दशरथचन्द नगरपालिका–३ का ४५ वर्षीय दिलीप नाथ, सोही ठाउँका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ, १६ वर्षीय सुशील नाथ र जीप चालक दशरथ नाथ घाइते भएका छन् ।
दशरथचन्द नगरअन्तर्गत पर्ने छेला दुर्गाभवानी ग्रामीण कच्ची सडकमा जिप अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको हो ।
अनियन्त्रित जिप सडकबाट करिब १० मिटर तल खसेर सल्लाको रूखमा अड्किएको थियो । जिप रूखमा अड्किँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
यता, नौबिसे–मुग्लिन सडकखण्डमा पर्ने चिरौँदी खोलानजिक पहिरोले एउटा कार बगाएको छ ।
सडक माथिबाट आएको पहिरोले कार बगाएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोले कारलाई बगाएर सडकभन्दा केही तल खसालेको छ । धादिङको गजुरीबाट काठमाडौँ जाँदै गरेको बा २ च ७८८५ नम्बरको कारलाई पहिरोले बगाएको हो ।
पहिरोमा परेर ४ जना घाइते छन् ।
घाइते हुनेमा काठमाडौँ चन्द्रागिरी नगरपालिका– १२ बस्ने ६५ वर्षका धर्म महर्जन, सोही स्थानका ४५ वर्षका देवकृष्ण श्रेष्ठ, ५८ वर्षका करण प्रकाश शाही र कार चालक कास्कीको पोखरा महानगरपालिकाका ४० वर्षका विष्णु श्रेष्ठ छन् ।
प्रतिक्रिया