काठमाण्डु – रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो भीरबाट करिब ८०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार हालसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ भने उद्धार कार्य जारी रहेको छ ।
लु१ज ४१६७ नम्बरको बोलेरो जीप वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेलामा सहभागी हुन जाने यात्रु बोकेर जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
यसैबिच नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । उनले रुकुमपूर्वबाट रोल्पाको थवाङ–१ जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जना नागरिकको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।
मृतकमध्ये अधिकांश रुकुमपूर्वको सिस्ने–५ टाकुराका वासिन्दा रहेको उल्लेख गर्दै उनले सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रचण्डले घाइतेको नि:शुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
यस्ता घटनाको पुनरावृत्ति हुन नदिन आवश्यक सुरक्षा उपाय सुदृढ गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।




प्रतिक्रिया