बाढीले बगाएको तादी खोलामा सेनाले बनायो एक्रो ब्रिज (तस्बिरहरू)

बाढीले बगाएको तादी खोलामा सेनाले बनायो एक्रो ब्रिज (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोसी बाढीले नुवाकोटको देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि त्यहाँ एक्रो ब्रिज निर्माण गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार तादी खोलामा नेपाली सेनाले छोटो समयमै ६० मिटर लामो एक्रो ब्रिज निर्माण गरेको हो।

नुवाकोटको विदुर–५ देवीघाटस्थित तादी खोलामा नेपाली सेनाको इन्जिनियरिङ समूहबाट खटिएको ५५ जनाको टोलीले एक्रो ब्रिज निर्माण गरेको हो।

बिहीबार अपरेशन कमाण्डर उपरथी रन्जित थापा, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतको उपस्थितिमा पुल सञ्चालनमा ल्याइएको हो।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण तादी खोलामा रहेको पक्की पुल बगेपछि सो क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। बाढीले क्षति पुर्‍याएको पुरानै पुलको अबुटमेन्ट (आधारस्तम्भ) लाई प्रयोग गर्दै नयाँ एक्रो ब्रिज निर्माण अघि बढाइएको हो।

यो पुलले धादिङ र नुवाकोटलाई जोडेर रसुवासम्म यातातात सञ्चालनका लागि सहज हुनेछ। एक्रो ब्रिज जडान गरिएसँगै आवतजावत सुरु भएको छ।

भत्किएको सडक र पुलका कारण स्थानीयको आवागमन र ढुवानीमा परेको समस्यालाई ध्यानमा राख्दै नेपाली सेनाले पुल जडानको नेतृत्व लिएको छ। निर्माणका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन सेना स्वयंले गरेको छ भने प्राविधिक तथा निर्माण सम्बन्धी सम्पूर्ण कार्य पनि सेनाकै टोलीले गरिरहेको छ।