नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षलाई फेरी हटाउने तयारी, ७ दिने स्पष्टीकरण सोधियो


काठमाण्डु – नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई फेरी स्पष्टीकरण सोधिएको छ । वायु सेवा निगमको सञ्चालक समितिको बैठकले अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको हो । सोमबार बसेको संचालक समितिको बैठकले उनलाई एक दर्जनभन्दा बढी विषय सोधेर स्पष्टीकरण मागेको स्रोतले जानकारी दियो ।

अधिकारीले वायु सेवा निगमलाई धराशयी बनाएको आरोप छ । उनलाई तत्कालिन पर्यटनमन्त्री प्रेम आलेले नियुक्त गरेका थिए । आलेसंग पछि सम्बन्ध बिग्रिएपछि उनलाई पदबाट हटाइएको थियो । अधिकारीमाथि आर्थिक र नैतिक प्रश्न उठदै आएको छ । तर, पनि उनलाई आर्थिक प्रलोभनमा निगममा ल्याइएको हो ।

अधिकारीले चिनियाँ जहाजको व्यवस्थापन गर्न नसकेको, हवाई टिकट अनलाइनबाट विक्रि गर्न नसकेको, कमिसनको प्रलोभनमा परेर ८ महिनादेखि निगमको न्यारोबडीको इन्जिन मर्मत नगरी भाडामा ल्याइएकोलगायतका आरोप लगाइएको छ ।

अधिकारीलाई यसअघि तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने नेतृत्वको जाँचबुझ समितिको प्रतिवेदनको सुझावका आधारमा बर्खास्त गरिएको थियो । प्रतिवेदन रोक्न अधिकारीले सचिव न्यौपानेलाई पैसाको अफर गरेको उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर, न्यौपानेले उनलाई तुरुन्त पदबाट बर्खास्त गर्न भनेका थिए । उनले न्यौपानेमाथि समाजवादीका नेता झलनाथ खनालमार्फत समेत दबाव दिएका थिए ।

त्यसलगत्तै अधिकारी अदालत गएका थिए । उनले साउन १९ गतेको अल्पकालीन अन्तरिम आदेश ल्याएर निगम फर्किएका छन् । यो मुद्दाको पेशी आउँदो शुक्रबारका लागि तोकिएको छ । मुद्दाको किनारा चांडै लाग्ने बताइएको छ । त्यसपछि फेरी अधिकारीलाई हटाउने तयारी छ ।

अधिकारीले अल्पकालिन आदेश ल्याए पनि अहिले कार्यालय गएर नियमित काम गरिरहेका छन् । उनको कामप्रति पर्यटन मन्त्रालयले प्रश्न उठाइरहेको छ । अधिकारीलाई कर्मचारीको कार्यसम्पादन नगर्न समेत मन्त्रालयले भनेको छ । त्यसका साथै विदेशमा सरुवा नगर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले अवरोध गरेको भन्दै अधिकारी फेरी मन्त्रालयविरुद्ध अदालत गएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement