हिउँदे अधिवेशन अघि उपसभामुखको राजीनामा, को बन्ला सभामुख ?

हिउँदे अधिवेशन अघि उपसभामुखको राजीनामा, को बन्ला सभामुख ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज मंसिर २५ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा १३ औँ दक्षिण एसियाली खेलकुद सागको समापन र नेपालको प्रदर्शनको बारेमा समाचारहरु प्रकाशित छन् । त्यस्तै, हिउँदे अधिवेशनको आह्वानसँगै को बन्ला नयाँ सभामुख भन्ने विषयमा पनि समाचारहरु प्रकाशित छन् ।

नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्। संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन्।

उनी नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ। यौन दुव्र्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ। सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ। उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन्। त्यही कारण तुम्बाहाम्फेको पद गुम्न लागेको हो। सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ। संसद् अधिवेशन आह्वानसँगै नयाँ सभामुखबारे सत्तासीन नेकपामा छलफल प्रारम्भ भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेको स्रोतले बतायो। स्रोतका अनुसार ओलीको रोजाइमा पूर्वसभामुख एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ छन्। नेम्वाङले आफू सभामुखको दौडमा नरहेको अभिव्यक्ति दिएपछि दुवै अध्यक्षले आफूहरुले निर्णय गर्ने र त्यसबारे केही पनि नबोल्न नेम्वाङलाई भनिसकेको स्रोतले जनायो। पूर्वमाओवादीका नेताहरू पनि सभामुखको दौडमा छन्। अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले पनि सभामुखमा रुचि राखेको नेकपा स्रोतले बतायो। उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखमा दाबी छाडेकी छैनन्।

कान्तिपुर दैनिकका अनुसार शक्ति सन्तुलन मिलाउने क्रममा दुई वर्षअघि सभामुख तत्कालिन माओवादीको भागमा पारिएको थियो । त्यस्तैले अहिले पनि सभामुख पद आफूहरुले नै पाउनुपर्ने पक्षमा पूर्व माओवादी नेताहरु छन् भने पूर्वएमालेहरु पार्टी एकीकरण भइसकेपछि पुरानो भागबन्डामा अल्झिन नहुने तर्क गरिरहेका छन् । पूर्व माओवादीमा स्थायी समिति सदस्य अग्नि सापकोटालाई भावी सभामुखका रुपमा हेर्नेहरुको पंक्ति ठूलो छ । सापकोटालाई सभामुख बनाउन अध्यक्ष पुष्पकमल दाहाल पनि सकारात्मक देखिएका छन् । सभामुख स्वतः पूर्वमाओवादीको भागमा भएकाले यो विषयमा धेरै छलफल गर्नु पर्ने स्थायी समिति सदस्य हरिबोला गजुरेलले बताए । ‘हामी पार्टी एकीकरण प्रक्रियाको चरणमै छौँ,’ उनले भने, ‘व्यक्ति को हुँदै छ भन्ने कुरा गौण हो । सभामुखमा हामीले दाबी नै गर्नुपर्दैन । यो स्वतः पाउने कुरा हो ।’