अफगानिस्तानमा युद्ध अन्त्य भएको तालिबानको घोषणा, कसले सम्हाल्छ सत्ता ?

अफगानिस्तानमा युद्ध अन्त्य भएको तालिबानको घोषणा, कसले सम्हाल्छ सत्ता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – तालिबानले अफगानिस्तानमा युद्ध अन्त्य भएको घोषणा गरेको छ । आइतबार राजधानी काबुल नियन्त्रणमा लिएपछि तालिबानले अफगानिस्तानमा युद्ध अन्तय भएको घोषणा गरेको हो । तालिबानी लडाकुहरुले राजधानी काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति अशरफ घानी देश छाडेर भागेका थिए

सोमबार काबुलका सडकहरु शान्त देखिएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा अराजकता र आतंकका दृश्यहरु देखिएका छन् । किनकि सयौं अफगानहरुले देश छोड्ने क्रम चलिरहेको छ । अमेरिका र अन्य पश्चिमी राष्ट्रहरुले पनि आफ्ना कूटनीतिज्ञ र नागरिकहरुको उद्धार गरिरहेका छन् ।

तालिबानी प्रवक्ताले अफगानिस्तानमा नयाँ सरकारको प्रक्रिया चाँडै सुरु हुने बताए । मोहम्मद नईमले शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्धका लागि पनि आह्वान गरेका छन् ।

‘भगवानलाई धन्यवाद, देशमा युद्ध समाप्त भएको छ’, उनले भने, ‘हामी जे खोजिरहेका थियौं, त्यो हाम्रो देशको स्वतन्त्रता र हाम्रा जनताको स्वतन्त्रता हो । हामी कसैलाई लक्षित गर्नको लागी हाम्रो भूमिको उपयोग गर्नको लागी अनुमति दिने छैनौं र हामी अरुलाई हानि गर्न चाहँदैनौं ।’

नयाँ सरकारकाे नेतृत्व

अफगानिस्तानमा  तालिबानी आएसँगै नयाँ नेतृत्वबारे चर्चा सुरु भएको छ । अब अफगानिस्तानको सत्ता कुन तालिबानी नेताले सम्हाल्छन् भन्ने चासोको विषय बनेको छ । नेतृत्वमा दुई जना तालिबानी नेताको नाम चर्चामा छ । मुल्ला अब्दुल गनी बरादर र हिब्तुल्लाह अखुन्दजादा मध्ये एक जनाले सरकारको सम्हाल्नेछन् ।

मुल्ला अब्दुल गनी बरादर

मुल्ला अब्दुल गनी बरादर ती चार व्यक्तिमध्ये एक हुन्, जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरी तालिबानलाई सत्ताबाट हटाएको थियो । त्यति बेला उनी नेटो सैन्य बलविरुद्धको विद्रोहका प्रमुख बनेका थिए ।

२०१० फेब्रुअरीमा अमेरिका र पाकिस्तानको एक संयुक्त अभियानका क्रममा उनलाई पाकिस्तानको कराचीबाट पक्राउ गरिएको थियो ।

२०१२ सम्म मुल्ला बरादरको बारेमा धेरैलाई धेरै जानकारी थिएन । सन् २०१३ सेप्टेम्बरमा पाकिस्तान सरकारले उनलाई रिहा गरेको थियो । तर, उनी पाकिस्तानमै बसे कि अन्तै गए भन्ने बारेमा केही खुलाइएन ।

मुल्ला बरादर तालिबानका नेता मुल्ला मोहम्मद उमरका सबैभन्दा विश्वासपात्र सिपाही थिए । जब उनलाई पक्राउ गरिएको थियो, त्यति बेला उनी तालिबानका दोस्रो ठूलो नेता थिए ।

२०१८ मा कतारमा अमेरिकासित वार्ता गर्नका लागि उनलाई तालिबानको राजनीतिक दलको प्रमुख बनाइएको थियो । अमेरिकासित वार्ता गर्नुपर्ने कुरामा उनी सधैँ समर्थन गर्थे ।

१९९४ मा तालिबानको गठनपछि उनी एक कमान्डर र रणनीतिकारको भूमिकामा रहेका थिए । मुल्ला उमर जीवित रहँदासम्म उनी तालिबानको लागि रकम जुटाउने कार्यको प्रमुख थिए ।

उनले अफगानिस्तानको सबै युद्धमा तालिबानको तर्फबाट अहम् भूमिका निभाए । विशेषगरी हेरात र काबुल क्षेत्रमा सक्रिय थिए । तालिबानलाई सत्ताबाट हटाइँदाको बखत उनी तालिबानको उपरक्षामन्त्री थिए ।

उनी पक्राउ परेको समयमा अफगानिस्तानका एक अधिकारीले उनकी पत्नी नेता मुल्ला उमरकी बहिनी भएको बीबीसीलाई बताएका थिए । तालिबानको सम्पूर्ण पैसाको हिसाब मुल्ला बरादरले राख्ने गरेको पनि ती अधिकारीले बताएका थिए । अधिकारीका अनुसार उनी अफगान बलविरुद्धको सबैभन्दा कठिन आक्रमणको नेतृत्व गर्थे ।

तालिबानका अरू नेताहरूजस्तै मुल्ला बरादरमाथि पनि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको थियो । उनलाई यात्रा र हतियार किन्न प्रतिबन्ध थियो । इन्टरपोलका अनुसार मुल्ला बरादरको जन्म सन् १९६८ मा उरुजगान प्रान्तको देहरावुड जिल्लाको वीटमाक गाउँमा भएको थियो ।

हिब्तुल्लाह अखुन्दजादा

हिब्तुल्लाह अखुन्दजादा अफगान तालिबानका नेता हुन् । उनी इस्लाम धर्मका विद्वान् हुन् । कन्दाहारका हुन् । उनले नै तालिबानलाई नयाँ दिशा दिएर वर्तमान अवस्थासम्म ल्याइपु¥याएको मानिन्छ ।

तालिबानको गढ रहेको कन्दाहारसितको उनको सम्बन्धले उनलाई तालिबानमा आफ्नो पकड बनाउन मद्दत पुग्यो । उनले सन् १९८० को दशकमा सोभियत संघविरुद्ध अफगानिस्तानको विद्रोहमा कमान्डरको भूमिका निभाएका थिए । तर, उनको पहिचान सैन्य कमान्डरभन्दा एक धार्मिक विद्वान्को रूपमा छ ।

उनी अफगान तालिबानका प्रमुख बन्नुअघि पनि तालिबानको शीर्ष नेता थिए । धर्मसित सम्बन्धित तालिबानको आदेश उनी नै दिने गर्थे । उनले दोषी साबित हत्यारा र अवैध यौनसम्बन्ध राख्ने व्यक्तिको हत्या गर्न र चोरी गर्नेको हात काट्ने आदेश दिएका थिए ।

उनी तालिबानका पूर्वप्रमुख अख्तर मोहम्मद मन्सुरका सहायक पनि रहेका थिए । सन् २०१६ मा अमेरिकी ड्रोन आक्रमणमा मन्सुरको मृत्यु भयो । मन्सुरले आफ्नो वसियतमा हिब्तुल्लाहलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए ।

करिब ६० वर्षीय हिब्तुल्लाहले आफ्नो जीवनको अधिकांश समय अफगानिस्तानमा नै बिताएका छन् । हिब्तुल्लाहको नामको अर्थ ‘अल्लाहबाट उपहार’ हो । उनी नूरजाई वंशका हुन् ।