एएफसी महिला च्याम्पियनसिपमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

एएफसी महिला च्याम्पियनसिपमा आज नेपाल र उज्वेकिस्तान भिड्दै


काठमाण्डु-एएफसी महिला च्याम्पियनसिपअन्तर्गत प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल एपीएफ क्लबले आज उज्वेकिस्तानको पीएफसी नसाफविरुद्ध भिड्दै छ ।

मलेसियाको लिकास स्टेडियममा हुने खेल आज बेलुका नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाली टोली अनिता बस्नेतको कप्तानीमा मैदानमा उत्रनेछ । एपीएफले आज नसाफलाई हराए समूह चरणमा पुग्ने सम्भावना बलियो बनाउनेछ ।

एपीएफको टोली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकसमेत रहेका राजेन्द्र तामाङको प्रशिक्षणमा छ । यस्तै साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा घाइते भएकी मिडफिल्डर प्रिती राईले यही च्याम्पियनसिपबाट पुनरागमन गर्दैछिन् ।

एपीएफले महिला लिग च्याम्पियनसिपको विजेताको हैसियतमा च्याम्पियनसिप खेल्न लागेको हो ।

एपीएफले बुधबार मलेसियाको आयोजक सबाहविरुद्ध खेल्ने छ । एपीएफ यी दुई टोलीलाई हराउँदै समूह चरणमा स्थान बनाउने रणनीतिमा छ ।

च्याम्पियनसिपमा २२ राष्ट्रका क्लब सहभागी छन् । यीमध्ये सन् २०२४ को फिफा वरीयताको शीर्ष ८ मा रहेका राष्ट्रका क्लबले सिधै समूह चरणमा स्थान बनाएका छन् ।

बाँकी १४ देशका क्लबले भने समूह चरणमा स्थान बनाउन प्रारम्भिक चरण पार गर्नुपर्नेछ । ती क्लबलाई ४ समूहमा विभाजन गरिएको छ । यी चार समूहका विजेताले च्याम्पियन्सिपको समूह चरणमा स्थान बनाउनेछन् । प्रारम्भिक चरणका खेल आजदेखि शनिबारसम्म चल्नेछ ।