एएफसी महिला च्याम्पियन्स लिगको ‘ड्र’ निकालियो, एपिएफ समूह ‘सी’ मा

एएफसी महिला च्याम्पियन्स लिगको ‘ड्र’ निकालियो, एपिएफ समूह ‘सी’ मा


काठमाण्डु-एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट चरणको ‘ड्र’ निकालिएको छ । नेपाली घरेलु फुटबलमा सबैभन्दा सफल विभागीय टोली एपिएफ समूह ‘सी’ मा परेको छ । एपिएफ रहेको समूहमा उज्वेकिस्तानको फुटबल क्लब नासाफ र मलेसियाको सबा फुटबल क्लब परेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले एसियामा महिला फुटबललाई गति दिन आगामी अगस्टदेखि सुरु गर्न लागेको महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा १३ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘ए’ मा म्यावाडी महिला फुटबल क्लब (म्यानमार), योङ एलिफेन्ट्स एफसी (लाओस), अबुधाबी कन्ट्री क्लब (युएई) र अल नासर क्लब (साउदी अरब) रहेका छन् । बाँकी तीन समूहमा समान तीन क्लब छन् ।

अगस्ट २५ देखि ३१ सम्म केन्द्रिकृत लिग ढाँचामा हुने खेलहरू साउदी अरब, जोर्डन, मलेसिया र भुटानले आयोजना गर्नेछन् । नेपाल रहेको समूहको खेल भने मलेसियामा हुने एएफसीले जनाएको छ ।

गत अगस्टमा घोषणा गरिएको प्रतियोगितामा २२ सदस्यीय संघ (एमए) को प्रतिनिधित्व हुने एएफसीले जनाएको छ । एएफसीका अनुसार फिफा महिला विश्व वरीयता (१५ मार्च २०२४ सम्म) अनुसार शीर्ष आठ एमएका क्लबहरूले सीधै च्याम्पियन्स लिगमा स्थान बनाउनेछन् ।

बाँकी चार क्लब भने प्रारम्भिक छनोट पार गरेर आउनुपर्नेछ । नेपाल वरीयतामा १८औं स्थानमा रहेकाले एपिएफले प्रतियोगिताको प्रारम्भिक चरणमा सहभागिता जनाउन लागेको हो । यी चार समूहका विजेताले मात्रै च्याम्पियन्स लिगमा स्थान बनाउनेछन् ।

पहिलो पटक महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न लागेको एपिएफले राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका राजेन्द्र तामाङलाई अनुबन्धित गर्दै मंगलबारदेखि हलचोकमा तयारी सुरु गरिसकेको छ । टोलीमा कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, सावित्रा भण्डारी, अनिता बस्नेत, अनिता केसी, प्रीति राई, सरु लिम्बु, गीता राना, रेनुका नगरकोटी, सविता रानामगर, हीराकुमारी भुजेल, रश्मिकुमारी घिसिङ, निशा थोकरलगायत राष्ट्रिय टोलीका खेलाडीको वर्चस्व छ ।