काठमाण्डु-एएफसी महिला च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाल एपीएफ क्लबको टोली मलेसिया प्रस्थान गरेको छ ।
महिला लिग च्याम्पियनसिप विजेताको हैसियतले एपीएफको टोली प्रतियोगितामा सहभागी हुन बिहीबार राति मलेसिया प्रस्थान गरेको हो ।
एपीएफले आइतबार उज्वेकिस्तानको नसाफसँग खेल्नेछ । बुधबार मलेसियाको सबाहविरुद्ध खेल्ने तालिका छ । एपीएफ यी दुई टोलीलाई हराउँदै समूह चरणमा स्थान बनाउने रणनीतिमा छ ।
एपीएफकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा भने च्याम्पियनसिपका लागि उपलब्ध हुने छैनन् । उनी व्यावसायिक फुटबल खेलका लागि हाल फ्रान्समा छिन् ।
साम्बाको अनुपस्थितिमा पनि टोलीले राम्रो खेल्ने विश्वास टोलीकी कप्तान अनिता बस्नेतले गरेकी छन् । वाफ च्याम्पियनसिपमा घाइते भएकी प्रिती राईले भने यही च्याम्पियनसिपबाट पुनरागमन गर्दै छिन् ।
राष्ट्रिय टोलीमा रहेकी नेपाल पुलिस क्लबकी गोलरक्षक उषा नाथ र डिफेन्डर अमृता जैसीलाई तथा त्रिभुवन आर्मी क्लबकी डिफेन्डर अमिशा कार्की र दीपा शाहीलाई पनि एपीएफले टोलीमा ल्याएको छ ।
च्याम्पियनसिपमा २२ राष्ट्रका क्लब सहभागी हुनेछन् । सन् २०२४ को फिफा वरीयताको शीर्ष ८ मा रहेका राष्ट्रका क्लबले सिधै समूह चरणमा स्थान बनाएका छन् ।
बाँकी १४ राष्ट्रका क्लबले भने समूह चरणमा स्थान बनाउन प्रारम्भिक चरण पार गर्नुपर्ने छ ।
१४ देशका क्लबलाई ४ समूहमा विभाजन गरिएको छ । यी समूहका विजेताले च्याम्पियन्सिपको समूह चरणमा स्थान बनाउनेछन् । प्रारम्भिक चरणका खेल पर्सि आइतबारदेखि शनिबारसम्म हुनेछन् ।
प्रतिक्रिया