तालिबानीको तीन दिने युद्धबिराम समाप्त


काबुल – अफगानिस्तानमा युद्धरत तालिबान समूहले ईद पर्वको अवसरमा गरेको तीन दिने युद्धविराम आइतबार समाप्त भएको छ । ईदका अवसरमा घोषणा गरिएको यस युद्धबिरामको अवधिमा पनि हिंसात्मक झडपहरु र बम हमला भएका थिए, तर अधिकांश हिंसात्मक घटनाको जिम्मेवारी अफगानिस्तानमा सक्रिय अर्को इस्लामिक संगठन इस्लामिक स्टेटले लिएको थियो ।

युद्धबिराम समाप्त भएसँगै सरकार र तालिबानबीच शान्तिवार्ता पुनः शुरु गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई आह्वान गरेका छन् । तालिबानका राजनीतिक मामिला सम्बन्धी प्रवक्ता सुहेल शाहीनले सरकार र तालिबानका प्रतिनिधिबीच कतारमा पुनः भेटवार्ता भएको बताए । दुबै पक्षले शान्तिका प्रति आआफ्ना प्रतिबद्धता व्यक्त गरेको र रोकिएको वार्ता चाँडै शुरु गर्न सहमति जनाएको उनले बताए ।

संयुक्तराज्य अमेरिकाले दुबै पक्षलाई शान्तिवार्ता जतिसक्दो चाँडो शुरु गर्न दबाब दिइरहेको छ । अमेरिकाले अफगानिस्तानमा तैनाथ करिब २५ सय देखि ३ हजार सेना तथा नेटोले आफ्ना करिब सात हजार सेना आगामी सेप्टेम्बर ११ अघि नै फर्काउन थालेकाले पनि वार्ता प्रक्रिया जतिसक्दो चाँडो टुङ्ग्याउन अमेरिकाले दुबै पक्षलाई दबाब दिएको हो ।

पछिल्लो समय अफगानिस्तानमा इस्लामिक स्टेट समूह बढी सक्रिय देखिएको छ । देशका विभिन्न भागमा इस्लामिक स्टेटले बम हमला गरेर जनधनको ठूलो क्षति पु–याएको छ । यसैबीच, शनिबार चीनका विदेश मन्त्री वाङ यीले पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरेसीलाई टेलिफोन गरी अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिकको स्वदेश फिर्तापछिको अवस्थाका बारेमा चासो राखेका थिए ।

चिनियाँ विदेश मन्त्री वाङले विदेशी फौजको फिर्ती हतारमा भइरहेको र यसले अफगानिस्तानको शान्तिप्रक्रियामा गम्भीर असर पर्ने तथा क्षेत्रीय स्थायित्वमा नकारात्मक प्रभाव पर्ने बताउनु भएको थियो । उनले राष्ट्रसंघले आफ्नो भूमिका बढाउनुपर्नेमा जोड दिएका थिए ।-(एपी)

प्रतिक्रिया दिनुहोस
Advertisement