अग्नी सापकोटा सभामुखमा सिफारिस भएपछि इन्सेकले निकाल्याे यस्तो विज्ञप्ति


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेकोप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमार्फत सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका आरोपित सापकोटालाई सभामुख बनाउने निर्णयमा पुनर्विचार गरी कानुनी शासनको सम्मान गर्न माग गरिएको छ ।

‘सर्वोच्च अदालतको संवैधानिक इजलासमा सशस्त्र द्वन्द्वकालीन विचराधीन मुद्दाका आरोपित सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय देशको कानुन तथा नेपालको मानव अधिकारप्रतिको अन्तर्रा्ष्ट्रिय प्रतिबद्धता विपरीत छ,’ विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा थप भनिएको छ–‘इन्सेकको अभिलेख अनुसार तत्कालीन छत्रेबाँझ गाविस–५ दाप्चाका अर्जुनबहादुर लामालाई २०६२ वैशाख १६ गते दिउँसो कृष्ण मावि दाप्चाको प्राङ्गणबाट माओवादी कार्यकर्ताहरूले अपहरण गरेका थिए ।

कृष्ण मावि, दाप्चाको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वा्चित भएपछि आयोजित स्वागत कार्यक्रममा सरिक भइरहेको बेला माओवादी कार्यकर्ताहरूको अपहरणमा परेका पीडित लामाको २०६२ असार महिनामा माओवादी नियन्त्रणमा नै मृत्यु भएको थियो । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार घटनाको दुई महिनापछि अग्नि सापकोटा उपस्थित एक कार्यक्रममा लामालाई पनि उपस्थित गराइएको थियो । त्यसयता कतै नदेखिएका लामालाई अपहरणको नौ महिनापछि २०६२ पुसमा माओवादी नेता सूर्यमान दोङले ‘अर्जुनलाई सफाया गरिएको’ सार्वजनिक गरेका थिए ।’

पतिको अपहरणपछि माओवादीले हत्या गरेको भन्दै २०६४ असार २१ गते लामाकी पत्नी पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय, काभ्रेमा दिएको किटानी जाहेरी प्रहरीले लिन अस्वीकार गरेपछि सोसम्बन्धमा पीडित र मानव अधिकारकर्मीले सर्वोच्च अदालत गुहारेका थिए। सर्वोच्च अदालतले २०६४ फागुन २७ गते जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीले सापकोटा र अर्का नेता सूर्यमान दोङसहित ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी लिँदै पक्राउ पूर्जी जारी गरेको थियो। माओवादीले सेनाले प्रहार गरेको मोर्टारमा परी लामाको मृत्यु भएको बताउने गरेको छ ।

‘सङ्क्रमणकालीन न्यायको विषयमा संसारले नजर लगाइरहेको यो अवस्थामा श्री सापकोटाको सभामुख पदमा हुने नियुक्तिले नेपालको अन्तर्रा्ष्ट्रिय प्रतिबद्धता विपरीतमात्रै नभई मुलुकको मानव अधिकारप्रतिको अन्तर्रा्ष्ट्रिय प्रतिबद्धताको समेत खिल्ली उडाएको छ,’विज्ञप्तिमा भनिएको छ । सापकोटा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित सांसद हुन् ।

सभामुख पदका लागि सापकोटाले उम्मेदवारी दर्ता गरेपछि इन्सेकले गम्भीर रुपमा आपत्ति जनाएको हो। सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक रहेका छन् । सापकोटाको उम्मेदवारीमा नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राष्ट्रिय जनता पार्टी राजपा नेपालका संसदीय दलका नेता लक्ष्मणलाल कर्णलगायत सांसदहरु समर्थक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement