ठमेलमा एआईजीका छोरा समातिएको घटनामा ईन्स्पेक्टर लिम्बुमाथि प्रहरीको छानविन शुरु


काठमाडौँ–चार नम्बर प्रदेशका एआईजी कमलसिंह बमका छोरा सुगमलाई ठमेलमा पक्राउ गरेको घटनामा प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त दरबारमार्गका ईन्स्पेक्टर देउप्रसाद लिम्बुलाई छानबिन गर्न बोलाएको छ ।

शुक्रबार मध्यराति सुगमसहित तीन युवकलाई ठमेलबाट पक्राउ गरि थुनामा राखेर कुटपिट गरेको भन्दै सुगमले दिएको उजुरीमाथि लिम्बुलाई छानबिन गर्न प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले बयानका लागि बोलाएको हो ।

घटनाको छानविन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रामकृपाल शाहको नेतृत्वमा तीन सदस्यीय टोली बनाएर छानबिन सुरु गरेको छ ।

यस्तो थियो घटनाः

‘गुड फ्राइडे’ मनाउन ठमेल पुगेका युवकले मादक पदार्थ सेवन गरेर प्रहरीमाथि हातपात गरेपछि घटनाले नयाँ माेड लियो । ठमेलमा एक युवक प्रहरीमाथि नै जाइलागेपछि घटनाले नयाँ मोड लिएको थियो ।

ठमेलमा दरबारमार्गका प्रहरी निरीक्षक नेतृत्वको सादा पोशाकको टोली शुक्रबार राति नियमित ड्युटीका क्रममा ठमेल पुग्यो । प्रहरीले एउटा ट्याक्सी पनि लगेको थियो । राति २५ वर्षीय सुगम बमसहित ६–७ जनाको समूह आयो र ट्याक्सी चालकसँग विवाद गर्न थाले । लामै विवाद भएपछि एक जना प्रहरीले उक्त ट्याक्सी आफूहरुका लागि राखिएको बताए ।

तर, प्रहरीले त्यति भन्नासाथ सुगम झन् चर्किए । उनले प्रदेश न ४ का एआईजी कमलसिंह बम (बुबा) को धाक लगाउँदै ‘तिमीहरु जस्ता ४–५ जना मेरो घरमा खाना पकाउने मान्छे छन्’ भन्न थाले । त्यसपछि विवाद झन् लम्बियो । प्रहरीले उनलाई चौकीमा हिँड्न भन्यो तर, मानेनन् । त्यस क्रममा प्रहरीले उनलाई गाडीमा चढाउन बल नै प्रयोग गर्नु पर्यो । सुगम प्रहरीमाथि नै जाइलागे । प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा पुर्योएर रातभर राख्यो ।

बिहानै आमा प्रहरी कार्यालयमा पुगिन् र, चाहिएको बेला उपस्थित गराउने गरी प्रहरीले छोडिदियो । प्रहरी हिरासतबाट छुटेलगत्तै उनले आफू प्रहरीबाट कुटिएको भन्दै खबर गर्नुका साथै उजुरी छानबिन शाखामा उजुरी दिए ।

सुगमको एउटा कुरा र प्रहरीको अर्को कुरा भएपछि हरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले एकैसाथ तदारुपता देखाएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement