काठमाण्डु- सरकारले निजी क्षेत्रको साझेदारीमा पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट पेस गर्दै पोखरा र गौतमबुद्ध विमानस्थलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थापन अघि बढाइने बताए ।
अर्थमन्त्री डा वाग्लेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रु एक अर्ब ५३ करोड विनियोजन गरिएको जानकारी दिए ।
यसैगरी, निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको ढाँचा आगामी ६ महिनाभित्र तय गरिने , चितवनको भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन उडानको व्यवस्था गरिने र सुर्खेत, मुगुको ताल्चा र दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति गरिने मन्त्री वाग्लेले बताए ।
सरकारले ऐतिहासिकस्थलको विकासअन्तर्गत तिलौराकोट, देवदह, कपिलवस्तु र रामग्राम जस्ता ऐतिहासिक स्थलको बृहत्तर पूर्वाधार विकास गरिने बताएको छ । बृहत्तर लुम्बिनी विकास कार्यक्रमका लागि रु ८३ करोड विनियोजन गरिएको छ ।
यसैगरी, जनकपुरलाई ‘विवाह गन्तव्य’ का रूपमा ब्रान्डिङ गरिने, रामजानकी पथ र रामजानकी परिक्रमा सडकको स्तरोन्नति गरिने भएको बजेट बक्तव्यमा उल्लेख छ ।
कपिलवस्तुको तिलौराकोट, धनुषाको जनकपुरधाम र काठमाडौँको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया अघि बढाइने, मुस्ताङ र मनाङलगायत उच्च हिमाली जिल्लामा रहेका २०० वर्षभन्दा पुराना ऐतिहासिक बौद्ध गुम्बाको संरक्षणका लागि विशेष परियोजना अगाडि सारिएको वजेटमा उल्लेख छ ।
पश्चिमको खप्तड, बडिमालिका, रारा, स्वर्गद्वारीलगायतका क्षेत्रलाई समेटेर प्रादेशिक पर्यटकीय कोरिडोर ‘डाँफे रुट’का रुपमा विकास गरिने ,नयाँ उच्च पहाडी पदमार्गको विकास गरिने र ६ हजार मिटरभन्दा माथिका नामकरण नगरिएका हिमालहरूको मौलिक नामकरण गरी आरोहणका लागि खुला गरिने , कीर्तिपुरस्थित आदिवासी जनजाति सङ्ग्रहालयको विस्तार गरिनेछ र दलित समुदायको मौलिक सीप र कलालाई प्रवद्र्धन गर्न मधेस, कर्णाली र सुदूरपश्चिमका दलित बस्तीमा नमूना ‘होमस्टे’ सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
यस्तै, हाई अल्टिच्युट सिकनेस सेवा सञ्चालन, आयुर्वेद र योगालाई स्वास्थ्य पर्यटनसँग जोड्न लक्ष्यसमेत लिएको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि कुल १० अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ ।




प्रतिक्रिया