काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पोखरा महानगरपालिका शिशुवामा अजयराज सुमार्गीको नाममा रहेको कुल २५ रोपनि जग्गा कब्जामा लिएको छ । शनिबार नेकपा विप्लव माओवादी कास्कीले एक विज्ञप्ति जारी गरी सुमार्गीको जग्गा कब्जामा लिएको दाबी गरेको हो।
सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लिले सोवाचन्द्र सिग्देल, रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल पोखरा महानगरपालिका –३२-मा पर्ने किता नं.२९०६, ५७०३, २९१०, ५६९८, ५७००, ७६११, २१६५, २१६९, ५६०२, ५७१४, ५७१६, २१६७, २१७१, २१७५, २६३ ५, २८९६, २८९९ रहेको जग्गा नेकपाले कब्जा गरेको जनाएको छ।
विप्लव माओवादीकै दाबी अनुसार जग्गा पहिले सोवासचन्द्र सिग्देल, रामचन्द्र र हरिचन्द्र सिग्देलको नाममा थियो। सिग्देल परिवार र पोखरा महानगरपालिका–१२ का बद्रीप्रसाद आचार्यबीच घर व्यवहार मिलाउन एक करोड कारोबार हुँदा जग्गा धितो राखिएको थियो। तर, सिग्देल परिवारलाई पैसा फिर्ता दिँदा जग्गा नदिई आचार्यले सुमार्गीका नाममा पास गराएको विप्लव माओवादीको दाबी छ।
आचार्यले सो जग्गा २०७१ असार २६ मा सुमार्गीको स्वामित्वमा रहेको कम्पनी मुक्ति श्री प्रालिलाई दुई करोडमा विक्री गरेको माओवादीको दाबी छ। पीडित परिवारले जनपरिषदमा निवेदन दिएपछि छानबिनका आधारमा उक्त जग्गा विवादित देखिएकाले कब्जा गरिएको माओवादीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त जग्गा भोगचलन तथा विक्री नगराउन नापी, मालपोत, व्यवसायी सबैलाई विप्लव माओवादीले अनुरोध गरेको छ।
मुक्ति श्री प्रालिले केही समयअघि सो जग्गामा डोजर लगाएर सम्याएको थियो। गण्डकी प्रदेश प्रहरीले भने पोखरामा कुनै पनि जग्गा विप्लव माओवादीको कब्जामा नरहेको बताएको छ। गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले सेतोपाटीसँग भने, ‘जग्गामा झन्डा गाडेको सूचना आएपछि प्रहरी गएको थियो, प्रहरी जाँदा त्यस्तो केही फेला परेन।’
कास्की प्रहरीका नायब उपरीक्षक रवीन्द्र गुरुङले भने जग्गा कब्जाको सूचना आएपछि प्रहरी गएर ब्यानर र झन्डा हटाएको बताए। ‘कसको जग्गा हो हामी अनुसन्धान गरिरहेका छौं,’ गुरुङले भने। हेटौंडाका साधारण व्यक्ति सुमार्गी दसकमै अर्बपति बनेको र उनको आर्थिक उन्नतिको हैसियत असामान्य रहेको विप्लव माओवादीको दाबी छ।
विवादित जग्गा किनबेच, भोगचलन,तथा बैङ्किङ कारोवार नगर्न नगराउन तथा सबै प्रकारका दलालहरुबाट सचेत रहनका लागि साथै नापी, मालपोत जनसाधारण,ब्यवसायी,लखापढी ब्यवसायी सबैलाई सो जग्गामा कुनैपनि प्रयोजनमा सहभागि नहु्न नेकपा कास्कीले आम जनसमुदायमा अनुरोध समेत गरेको छ ।




प्रतिक्रिया