जनकपुरधाम – धनुषा र सिरहा जोड्ने कमला पुल नयाँ नै बनाउनुपर्ने भन्दै मधेश प्रदेश सरकारले गृहकार्य अगाडि बढाएको छ ।
बिहीबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कमला पुल निर्माणबारे स्मरण पत्र बुझाउन सिरहाबाट आएका नयाँ कमला पुल निर्माण संघर्ष समितिका सदस्यहरूसँगको लामो छलफलपश्चात मुख्यमन्त्री कृष्णाप्रसाद यादवले कमला पुल नयाँ नै बनाउनुपर्ने देखिएको र सोको गृहकार्य प्रदेश सरकारले अगाडि बढाएको जानकारी दिए ।
हाल मर्मतको क्रममा रहेको पुल लामो समयसम्म नटिक्ने देखिएकाले उक्त स्थानमा नयाँ पुल निर्माण गर्नु नै एक मात्र विकल्प रहेको मुख्यमन्त्री यादवले बताए । हाल मर्मत भइरहेको पुलमा विभिन्न प्राविधिक त्रुटिहरूको रहेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए ।
केन्द्र सरकारको निर्देशनपछि ममर्त कार्य सुरु भएर असारसम्म सम्पन्न गर्ने लक्ष्य रहेकामा अहिलेको कार्य प्रगति हेर्दा तोकिएको समयमा सम्पन्न हुनसक्ने कुनै काँटछाँट नदेखिएको मुख्यमन्त्री यादवले बताए ।
उनले नयाँ पुल निर्माण गर्न करिब २०० करोड अनुमानित रकम लाग्ने बताए । प्रदेश सरकारसँग यति ठूलो रकमको कुनै पनि परियोजना गर्ने कार्यविधि नरहेकाले यसलाई केन्द्र सरकारसँगै समन्वय गरेर अगाडि बढाउने मुख्यमन्त्री यादवले जानकारी दिए । उनले अर्थ मन्त्रालयसँग फोन सम्पर्कमा कुरा भएको सुनाए ।
उनले अबको केही दिनमै काठमाण्डु पुगेर यस विषयमा सम्बन्धित निकायका पदाधिकारीहरूसँग छलफल गर्ने जानकारी दिए ।
मुख्यमन्त्री यादवले धनुषा र सिरहा जोड्ने कमला पुल निर्माण भए प्रदेशवासीले नै यसको लाभ उठाउने बताए ।




प्रतिक्रिया