अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि, अध्यक्ष पदमा २० आकांक्षी

अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि, अध्यक्ष पदमा २० आकांक्षी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि हुँदैछ ।

‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि २३औँ राष्ट्रिय सम्मेलन’ मूल नाराका साथ सम्मेलन हुन लागेको हो ।

त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा आयोजना हुने सम्मेलनको दिउँसो १ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन कार्यक्रम छ । सम्मेलनमा देशभरबाट २३ सय २३ प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनको बन्दसत्र भोलि बिहान ८ बजे सुरु हुनेछ । बन्दसत्रमा विधान तथा प्रतिवेदन पेस हुनेछ । यसपछि समूह विभाजन गरी छलफलका लागि बन्दसत्र खुला गरिनेछ ।

शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदनबारे समूहगत छलफल, निष्कर्ष तथा रिपोर्टिङ गरिनेछ । सोही दिन प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ ।

असोज १३ गते आइतबार बिहान ८ बजे निर्वाचन कार्यक्रम सुरु हुनेछ भने असोज १४ गते सोमबार बिहान ८ बजेदेखि मतदान थालिनेछ । सम्मेलनले ३३ पदाधिकारीसहित २४३ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

जसमा अध्यक्ष, ९ उपाध्यक्ष, महासचिव, ९ उपमहासचिव, १२ सचिव र कोषाध्यक्ष गरी ३३ जना पदाधिकारी रहनेछन् ।

संगठनमा हाल रहेका १९ उपाध्यक्ष र एकजना महासचिवसहित २० जनाले अध्यक्ष पदमा दाबी गर्ने तयारी गरेका छन् ।

वर्तमान उपाध्यक्षहरू पवन कार्की, मदन भुल, नरेश रेग्मी, इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, केशव रावल, नारायण खनाल तथा महासचिव दीपेश पुनलगायतका नेता अध्यक्षको आकांक्षी छन् ।

पार्टी पदाधिकारीकै समर्थन रहेका कारण उपाध्यक्षहरू पवन कार्की, नरेश रेग्मी, मदन भुल र महासचिव दीपेश पुनलाई अध्यक्षका बलिया प्रतिस्पर्धी मानिएको छ । कार्कीलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अनि रेग्मीलाई उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङले समर्थन गरेको बताइएको छ ।

माओवादी उपमहासचिव जनार्दन शर्मानिकट मानिने भुल र उपमहासचिव वर्षमान पुनको समर्थन पाएका दीपेश पुन अध्यक्षका प्रमुख दाबेदार देखिएका छन् । दीपेश सहकारी र सुन प्रकरणलगायत घटनामा मुछिएका छन् ।

महासचिवका लागि हेमन्त राई, सुदिन पौडेल, नारायण बडाल, भीम भट्ट, सञ्जय काल्धन, प्रसुन कार्की, उपेन्द्र शाही, उपदेश यादवलगायत विद्यार्थी नेताको दाबी छ ।