काठमाण्डु- नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशन आइतबारदेखि सुरु हुँदै छ । महाधिवेशनको उदघाटन दिउँसो १ बजे प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
त्रिभुवन विश्वविद्यालय परिसरमा हुने महाधिवेशनले संगठनको नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने छ । नेतृत्वमा पहिलोपटक ३२ वर्षे उमेर हद लागू हुने छ ।
उमेर हद लागू हुने भएपछि नेतृत्वको दाबेदार मानिएका १५ जना पदाधिकारी प्रतिस्पर्धाबाट अलग हुनेछन् भने नेतृत्व गर्ने अवसर सचिव तहमा आउने छ । ११ जेठमा बसेको एमाले सचिवालय बैठकले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको
जस्तै अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको थियो ।
यो निर्णयसँगै अध्यक्षका दाबेदार महासचिव नरेश शाही, उपाध्यक्षहरु रामचन्द्र घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरी लगायत प्रतिस्पर्धाबाट बाहिरिनेछन् । यससँगै सचिव पदमा रहेकाहरु दीपक धामी, सुजन कडरिया, अञ्जना शिवाकोटी, आरती भट्टराई, प्रकाश पौडेल लगायत दाबेदार छन् ।
यसबीच महाधिवेशनका लागि निर्वाचन प्रक्रिया अघि बढाउन सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा गठित मण्डलले नेतृत्व चयनमा सहमतिको प्रयासलाई तीव्र बनाउनेछ ।
पूर्व अध्यक्षहरू माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बराल र समिक बडाल अध्यक्ष मण्डलमा रहेका छन् । उनीहरूले अध्यक्ष चयनका लागि जारी दौडधुपलाई निष्कर्षमा पुर्याउने प्रयास गरिरहेका छन्।
एमाले अध्यक्ष ओलीले अनेरास्ववियुलाई सहमतिको आधारमा नेतृत्व चयन गर्न सुझाव दिइसकेका छन् । तर, सहमति नजुटेमा लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्नुपर्ने संकेतसमेत गरेका छन् ।
प्रतिक्रिया