नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अखिल क्रान्तिकारीको माग


काठमाण्डु – नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (अखिल क्रान्त्रिकारी)ले तत्काल शिक्षा ऐन जारी गर्न माग गरेको छ ।

बुधबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सहितको टोलीले शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री देबेन्द्र पौडेललाई सिंह दरबार पुगेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेको हो । चरम वेथितिका कारण देशको शैक्षिक अवस्था भद्रगोल बनेको भन्दै तत्काल सुधारका कदम चाल्न समेत क्रान्तिकारीले माग गरेको छ।

२०२८ सालमा बनेको पञ्चायतकालीन ऐनलाई दशौँपटक संशोधन गर्दा पनि यसले नेपालको शैक्षिक समस्यालाई समाधान गर्न नसकेकाले सरकारले जतिसक्दो चाँडो नयाँ शिक्षा ऐन ल्याउनुपर्ने पनि उनिहरुको माग रहेको छ ।

सामुदायिक शिक्षादेखि व्यवसायीक शिक्षासम्म र चिकित्सा शिक्षादेखि विश्वविद्यालयसम्म सबै क्षेत्रमा अराजकता चुलिएको उनिहरुको जिकिर छ । शिक्षामा बढ्दो निजीकरणले सीमा नाघ्दा शिक्षा क्षेत्र हो कि बजार भन्ने छुट्याउनै नसकिने अवस्थामा नेपालको शैक्षिक क्षेत्र फसेको अखिल(क्रान्तिकारी)को माग पत्रमा उल्लेख छ उल्लेख छ ।

‘विभिन्न मानकहरुलाई आधार मानेर हेर्ने हो भने हाम्रो त्रिभुवन विश्वविद्यालयलाई आज संसारको उत्कृष्ट एक हजारको सूचिमा पनि पर्न निकै कठीन छ।’अखिल क्रान्तिकारीले भनेको छ,’एकातिर, आज विश्वविद्यालय पढ्न चाहने उत्कृष्ट विद्यार्थीहरुको रोजाई त्रिभुवन विश्वविद्यालय बन्न सकिरहेको छैन भने अर्कोतिर, दक्ष जनशक्ति विदेशिने ‘ब्रेनड्रेन’को समस्या दिनप्रतिदिन बढिरहेको छ।शिक्षाका कुनै पनि क्षेत्र सन्तोषजनक छैनन्।’

प्राविधिक शिक्षा नाम मात्रको प्राविधिक शिक्षा जस्तो महसुस हुन थालेको भन्दै अखिल क्रान्तिकारीले पुरै शिक्षा क्षेत्र नै उद्धारको पर्खाइमा रहेको उल्लेख गरेको छ।
अखिल क्रान्तिकारीले आफ्नो मागको पहिलो बुदामै नयाँ शिक्षा ऐनको तत्काल जारी गर्न भनेको छ।

उसले आंशिक प्रध्यापकहरुलाई स्वत: स्थायी गर्ने भनी आएका विभिन्न समाचारहरु प्रति हाम्रो गम्भीर आपत्ति जनाएको छ।। ‘संविधानले नै ग्यारेन्टी गरेको अनिवार्य आधारभूत शिक्षा र निशुल्क माध्यमिक शिक्षालाई व्यावहारिक रुपमा सुनिश्चित गरिनुका साथै सम्पूर्ण शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्व बनाइयोस्।’अखिल क्रान्तिकारीले ज्ञापन पत्रमा भनेको छ,’चिकित्सा शिक्षाको क्षेत्रमा देखिएको नीतिगत त्रुटीलाई तत्काल सच्याएर यस क्षेत्रमा देखिएको ‘ब्रेनड्रेन’को समस्याको यथाशिघ्र अन्त्य गरियोस।’

त्यस्तै अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरवाहीलाई रोक्न स्पष्ट कानुनी व्यवस्था गरि यस्तो प्राज्ञिक बेथितिको पुर्णतया अन्त्य गर्न माग गरेको छ।

‘विश्वविद्यालयको एउटा महत्वपूर्ण पक्ष नै शैक्षिक क्यालेन्डर हो तर आज भोलि विश्वविद्यालयहरुमा शैक्षिक क्यालेन्डरको अनियमितताले गर्दा लाखौँ विद्यार्थीहरुको भविष्य प्रभावित भइरहेको छ। तसर्थ, अनिवार्य रुपमा शैक्षिक क्यालेन्डर नियमित बनाई सोही अनुरुप विधार्थी भर्ना, कक्षा सञ्चालन,परीक्षा सञ्चालन र परिणाम प्रकाशन गर्ने ब्यवस्था मिलाइयोस्।’अखिल क्रान्तिकारीले भनेको छ,’त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविधालयमा परीक्षाको परीक्षाफल प्रकाशनमा भएको ढिलासुस्तीको अन्त्य गर्दै सबै तहका परीक्षाको परीक्षाफल ढिलोमा तीन महिना भित्रमा प्रकाशित गर्ने व्यवस्था कार्यान्वयन गरियोस् ।’

त्रि.वि.लगायतका अन्य विश्वविद्यालयहरुमा पदाधिकारी लगायत विभिन्न नियुक्तिहरुमा हुने राजनितिक भागबन्डाको अन्त्य गरी स्वच्छ प्रतिस्पर्धाको आधारमा दक्ष जनशक्ति नियुक्ति गर्ने व्यवस्था गर्न समेत उसले भनेको छ।

प्रत्येक २/२ बर्षमा हुने स्ववियु निर्वाचन देशका अधिकांश क्याम्पसहरुमा करिव १४ बर्ष देखि हुन सकिरहेको छैन भन्दै अखिल क्रान्तिकारीले पछिल्लो समय मिति २०७३ मा स्ववियु निर्वाचन भएका क्याम्पसहरुमा पनि झन्डै ६ बर्ष देखि स्ववियुविहिन भएकोले तत्काल सबै विश्वविद्यालयहरुमा तत्काल स्ववियु निर्वाचनको मिति घोषण गरी तनावरहित वातावरणमा निर्वाचन हुने परिपाटी मिलाउन माग गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement