काठमाण्डु- माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको ३ दिनदेखि रोकिएको मतगणना पेरिसडाँडामा जारी छ ।
उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणना मंगलबार रातिदेखि सुरू भएको हो । यसअघि बाल्मीकी क्यामपसमा नै मतगणना हुने भनिएपनि अन्तिममा पेरिसडाँडा लगिएको हो ।
रातीदेखि जारी मतगणनामा अहिले उपत्यका विशेष प्रदेशतर्फ सचिवहरुको मतगणना भइरहेको छ । सचिवको सकिएपछि उपमहासचिवको गणना हुने र त्यसपछि महासचिव, उपाध्यक्ष र अध्यक्षको मतगणना हुनेछ । गणना सकिन दिनभरि लाग्ने बताइएको छ । सचिव, महासचिव, उपमहासचिव, उपाध्यक्षको मत गणना गरेर मात्र अध्यक्षको गणना हुने छ ।
अहिलेसम्म अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ । सापकोटा ४८१ र राईले ४६१ मत ल्याएका छन्। क्रान्तिकारीको अध्यक्षका लागि विजयप्रकाश सापकोटा र हेमन्त राईसहित सुदीन पौडेल र अवदेश यादवले उम्मेदवारी दिएका छन् । उम्मेदवार चार जना भएपनि मूख्यगरि विजयप्रकाश सापकोटा र हेमन्त राईबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
यसैबीच विश्वविद्यालय र उपत्यका विशेष अन्तर्गत केन्द्रीय सदस्य, सचिवालय सदस्य र आयोगका पदाधिकारीहरूको मतगणना सकिएको छ । क्रान्तिकारीको २३ औँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । अहिलेसम्म् ९ प्रदेशमध्ये ७ प्रदेशको नतिजा आइसकेको छ ।
प्रतिक्रिया