रक्षामन्त्रीसँगको भेटमा अमेरिकी राजदूतले यसरी गरिन शान्ति सेनाको सराहना


काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेपलिजले भेटवार्ता गरेकी छन्।

रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिकाबीचको परस्पर सम्बन्ध र सहयोगका बारेमा छलफल भएको थियो।

भेटमा मन्त्री पोखरेलले नेपालको बृहत्तर विकासका लागि अमेरिकासँग आपसी सहयोग र सम्बन्ध थप विकास एवं बिस्तार गर्न चाहेको बताएको रक्षामन्त्रालयले जनाएको छ।

भेटमा राजदूत टेपलिजले नेपालको राजनीतिक परिवर्तनको स्वागत गर्दै नेपालको शान्ति प्रक्रिया विश्वमा नै अनुकरणीय भएको र वर्तमान सरकारले आफ्नो कार्यकाल पूरा गरेर नेपालको राजनीति स्थिर हुनेमा आफू आशावादी रहेको उल्लेख गरिन।

उनले नेपाली सेनाले विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट पीडितको उद्धार गर्ने र संयुक्त राष्ट्रसंघ मातहत रहेर शान्ति कायम राख्ने कुरामा पु¥याएको योगदानको सराहना गरेकी छन्।

नेपाल–अमेरिकाबीच परस्पर सैनिक तालीमका माध्यमबाट दुवै देशको सैनिकको क्षमता अभिवृद्धि भएको बताउँदै नेपालमा बाँध, जलविद्युत् र अन्य इञ्जिनीयरिङ क्षेत्रमा प्राविधिक सहयोग प्रदान गरी क्षमता अभिवृद्धि गराइने बचन राजदूतले दिएको रक्षामन्त्रालयले जनाएको छ।

भेटमा रक्षामन्त्रालयका सचिव दिनेश केसी र सहसचिव ऋषिराज भण्डारीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement