काठमाण्डु – भारतले टेक अर्बपति एलन मस्कको स्टारलिंकलाई देशमा सञ्चालन हुन नदिइएको भन्ने आरोप अस्वीकार गर्दै दूरसञ्चार सेवासम्बन्धी सरकारी नियम निष्पक्ष र गैरभेदभावपूर्ण रहेको जनाएको छ ।
मस्कले बुधबार सामाजिक सञ्जाल एक्समा भारतमा स्टारलिंकको प्रवेश केही कुलीन वर्गले आफ्नो एकाधिकार जोगाउन अवरुद्ध गरेको आरोप लगाएका थिए । उनले भारतीय जनतामाथि एकाधिकार कायम राख्न आफूहरूलाई रोकिएको दाबी गर्दै यसलाई भारतका जनता विरुद्धको अपराधसमेत बताएका थिए ।
भारतको सञ्चार मन्त्रालयले बिहीबार मस्कको नाम उल्लेख नगरी सामाजिक सञ्जालमा प्रसारित स्टारलिंक सहितका स्याटेलाइट सञ्चार सेवासम्बन्धी नियामक व्यवस्थाको निष्पक्षताबारेका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले भारतमा सबै दूरसञ्चार सेवाका लागि निष्पक्ष र गैरभेदभावपूर्ण प्राधिकरण ढाँचा रहेको स्पष्ट गरेको छ । स्याटेलाइट सञ्चार सेवा सञ्चालन गर्न आवश्यक दूरसञ्चार इजाजतपत्र प्रदान गरिएको र त्यस प्रक्रियाअन्तर्गत सम्बन्धित संस्थाको सुरक्षा मूल्यांकन भइरहेको मन्त्रालयले जनाएको छ ।
‘जब र जहाँ इजाजतपत्र प्राप्त संस्थाको सुरक्षा मूल्यांकन प्रक्रिया पूरा हुन्छ, त्यसले अर्को चरणमा प्रवेश गर्न सक्छ,’ मन्त्रालयले जनाएको छ ।
तल्लो पृथ्वी कक्षमा रहने उपग्रहमार्फत दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने स्टारलिंकको सम्भावित प्रवेशलाई लिएर भारतमा मूल्य निर्धारण र स्पेक्ट्रम वितरणलगायत विषयमा लामो समयदेखि बहस हुँदै आएको छ ।
भारतीय अर्बपति मुकेश अम्बानीको जियो प्लेटफर्मले सन् २०२५ को मार्चमा आफ्ना ग्राहकलाई स्टारलिंकको स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गरेको घोषणा गरेको थियो । यद्यपि सम्झौता भएको लामो समय बितिसक्दा पनि भारतमा स्टारलिंकको सेवा सञ्चालनमा आएको छैन ।
सरकारका अनुसार स्याटेलाइट सञ्चार सेवाका लागि इजाजतपत्र प्राप्त संस्थाहरूको सुरक्षा मूल्यांकन पूरा भएपछि मात्र सेवा सञ्चालनको अर्को प्रक्रिया अघि बढ्नेछ । मन्त्रालयले कम्पनीहरूको नाम भने उल्लेख गरेको छैन । (रासस/एएफपी)



प्रतिक्रिया