सांसद आले, श्रेष्ठ र बुढा एकीकृत समाजवादीबाट बाहिरिएका हुन् ?

सांसद आले, श्रेष्ठ र बुढा एकीकृत समाजवादीबाट बाहिरिएका हुन् ?


काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)को असार १६ देखि २० गतेसम्म काठमाण्डुमा सम्पन्न महाधिवेशन, त्यसैका आधारमा सर्वसम्मतीमा चयन गरिएका केन्द्रीय सदस्य र पोलिटब्युरो र पदाधिकारीमा तीन प्रतिनिधि सभा सदस्य समेटिएका छैनन् । जबकी महाधिवेशनबाट वडाध्यक्षसम्मका नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

पार्टीको तर्फबाट डोटी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेमबहादुर आले, बारा ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कृष्णकुमार श्रेष्ठ र डोल्पा १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित धनबहादुर बुढा केन्द्रीय समिति, पोलिटब्युरो तथा पदाधिकारी कतै पनि देखिएका छैन् । महाधिवेशनमा देखा नपरेका ती नेताहरू पदाधिकारी र पोलिटव्युरो चयन गर्ने केन्द्रीय समिति बैठक हुँदा पनि कतै देखा नपरेको एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।

२०७९ माडोटीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित आलेले एमालेबाट २०७० र २०७४ मा पनि प्रतिनिधि सभा सदस्यमा डोटीबाटै प्रत्यक्ष निर्वाचन जितेका थिए । एमालेमा ह्ुँदा २०७१ को ९ औं महाधिवेधनबाट केन्द्रीय सदस्यमा निर्वाचित आले नेकपा केन्द्रीय सदस्य, डोटी इञ्चार्ज र नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज थिए । २०७७ मा वन तथा वातावरणमन्त्री र २०७८ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए । आलेले असारमा महाधिवेशनका बेला महाधिवेशन स्थलमा नदेखिएपछि प्रतिकृया लिँदा एकीकृत समाजवादीसँग आफ्नो कुनै साइनो नरहेको बताएका थिए ।

‘म एमालेमै पोलिटब्युरो सदस्य भइसकेको हुँ, तीनपटक मन्त्री भइसकेको छु। त्यो एकीकृत समाजवादीमा वडा सदस्य जित्न नसक्ने मानिस पदाधिकारी छन्। त्यो पार्टी उँभो लाग्छ ? त्यही देखेर मैले बहिष्कार गरेको हुँ,’ आलेले भनेका थिए ।

बारा ४ बाट निर्वाचित श्रेष्ठ तनहुँका स्थानीय बासिन्दा हुन् । २०३८ सालमा अनेरास्ववियुको विद्यार्थी जिल्ला कमिटी आबद्ध भई विद्यार्थी राजनीतिको सुरुवात गरेका श्रेष्ठ ठेकेदार हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा तनहुँ १ बाट निर्वाचित श्रेष्ठ २०७९ मा बारा ४ बाट जितेका थिए । २०७९ मा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका श्रेष्ठ पनि कुनै समितिमा नदेखिएपछि उनले पनि एकीकृत समाजवादी छोडेको आकलन गरिएको छ । औपचारिक सम्पर्कमा नआएका श्रेष्ठले निकटस्थहरूलाई अब आफू एकीकृत समाजवादीमा नबस्ने बताउने गरेका निकटवर्तीहरू बताउँछन् ।

डोल्पाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित बुढाले यसअघि एमालेमा हुँदा २०७० र २०७४ मा पनि डोल्पाबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । २०५५ सालदेखि राजनीतिमा सक्रिय बुढा २०७४ फागुनमा संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन राज्यमन्त्री बनेका थिए । निवर्तमान पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बुढा पनि एकीकृत समाजवादीको केन्द्रको कुनै पनि तहमा निर्वाचित भएको देखिएन । मुख्यगरी आले र श्रेष्ठसाग निकट बुढाले पनि यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

तीनै जना पार्टी परित्याग गर्ने चरणमा रहेको निकटवर्तीहरू बताउँछन् । एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी नभएकाले सांसदहरूले पार्टी परित्याग गर्दा कारबाही नहुने कानुन अनुसार उनीहरूले एकीकृत समाजवादीसँगको दलीय आवद्धता त्याग्ने तयारी गरेका बताइन्छ ।