अस्कर अलिको कम्पनीद्धारा न्युज पोर्टल ह्याक गरेको स्विकार,साइबर अपराधमा कार्वाही गर्न दबाव


काठमाडौं– सिरान टेक्नोलोजीले गल्ती स्विकार गरेको छ । ‘काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टमभित्र अनधिकृत रूपमा प्रवेश गरेर कन्टेन्ट ह्याक गरेको आरोप लागेपछि कम्पनीले बिहिवार आफूबाट गल्ती भएको स्वीकार गर्दैै वक्तव्य जारी गरेको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीको निर्देशनमा उनका प्राविधिकहरूले न्युज पोर्टलको नयां एड्मिन सिर्जना गरेका थिए । काठमाडौं प्रेसमा प्रधानमन्त्रीका आईटी विज्ञ अली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मुख्य सल्लाहकार विष्णु रिमाललाई जोडेर समाचार प्रकाशित भएको थियो ।

सोही आइडीबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र उनका छोराहरूसँग सम्बन्धित समाचार डिलिट गरिएको थियो । समाचारमा प्रधानमन्त्रीका आइटी सल्लाहकार तथा ई–सेवाका सिइओ अलीको नाम मुख्यगरी जोडिएको थियो ।

‘काठमाण्डूप्रेसका सम्पादक र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच संवाद चलिरहेको वेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युज पोर्टलबाट सो समाचार हटाएको छानबिनको क्रममा पाइयो,’ सिरान टेक्नोलोजिजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटिलाई स्वीकार गर्दै हामी काठमाण्डू प्रेस, सम्पूर्ण प्रेस जगत् र हाम्रो शुभचिन्तकसंग क्षमायाचना गर्दछौं । साथै, यस्ता किसिमका त्रुटि दोहोरिन नदिन हामी नियन्त्रणका उपायलाई बलियो बनाउँदै पूर्वाधारलगायतका संयन्त्र निर्माण गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं ।’

प्रधानमन्त्री ओलीका आईटी विज्ञ रहेका अलीको कम्पनीले न्युज साइट नै ह्याक गरेको प्रमाणित भएपछि अव उनिमाथी साइबर अपराधमा कार्वाही गर्नुपर्ने चर्को आवाज उठेको छ । अर्काको न्युज साइटमा गएर डाटा नै डिलिट गर्ने काम साइबर अपराध भएको भन्दै त्यस्तो अपराधमा संलग्न हुनेलाई कानुनी कार्वाही गर्नुपर्ने आवाज जनस्तरमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई कार्वाही गर्छन् कि संरक्षण त्यो भने हेर्न बांकी छ ।

 

यो पनि पढ्नुहोस्-

प्रधानमन्त्रीका आईटी विज्ञको कर्तुत : गैरव्यावसायिक हर्कतले ई–सेवालाई धक्का

प्रतिक्रिया दिनुहोस
Advertisement