काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटना लगायतका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीको आलोचना गरेका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि सुनसरी घटनामा सरकार जिम्मेवार, सक्रिय र संवेदनशील बन्न नसकेको टिप्पणी गरेका छन् ।
सुनसरी घटनाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वपक्षीय बैठकमा कांग्रेस सभापति थापाले सरकार र प्रधानमन्त्रीको भूमिकाबारे टिप्पणी गरे ।
बैठकबाट बाहिरने क्रममा थापाले भने ‘संकटको बेलामा प्रधानमन्त्रीले ठालु बनेर बस्न मिल्दैन ।’ बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित भएको तर्फ संकेत गर्दै थापाले प्रश्न गर्दै भने, ‘यस्तो बेलामा पनि प्रधानमन्त्रीको भाउ खाएर बस्ने हो ? यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु भएर बस्ने हो ? यो बेलामा रिच आउट गर्नु पर्दैन ? यो बेलामा सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन ?’
सुनसरीमा घटेको घटनाको सन्दर्भमा प्रमुख राजनीतिक दलहरू एक ठाउँमा बसेर साझा प्रयास गर्ने पहल गरेको भन्दै उनले रास्वपा र सभापति लामिछानेलाई धन्यवाद दिए।
नेपाली समाजमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव अन्तरनिहित शक्ति भएको बताउँदै कसैले पनि आवेग र उत्तेजनामा नआइकन संयमताका साथ संवाद गर्नुपर्नेमा उनले जोड दिए।
सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै नेता थापाले भने, ‘यतिखेर सरकार के गर्दै छ ? सरकार कहाँ छ ? सरकार केवल बन्दुकको गोलीमा र लाठीमा मात्र भेटिने हो र ? सरकार स्टाटसमा मात्र सीमित रहने हो र ? सरकार भनेको अभिभावक मात्र होइन, सरकार लिडर पनि हो।’
उनले सुनसरी घटनालगायत विकसित परिस्थितिमा प्रधानमन्त्रीले सबै पक्षलाई समेटेर नेतृत्व लिनुपर्ने सुझाव दिए । सरकारले सक्रिय समन्वयकारी भूमिका निर्वाह गर्दै सामाजिक सद्भाव कायम गर्न अग्रसर हुनुपर्ने थापाको भनाइ थियो ।
यसैगरी बैठकमा संयोजक प्रचण्डले सुनसरीमा सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरे।
दाहालले भने, ‘सुनसरीमा देखिएको तनावप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौँ। यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्छ।’
उनले विगतमा जटिल परिस्थितिमा राजनीतिक दलहरूले राष्ट्रिय सहमति र एकताको उदाहरण प्रस्तुत गरेको र अहिले पनि त्यही राजनीतिक परिपक्वता आवश्यक रहेको बताए।
‘विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ’, प्रचण्डले भने ।
उनले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा सरकार साझा समाधानतर्फ प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै प्रश्न उठाए।
प्रचण्डले यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने बताए। संसदभित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी नदेखिएको गुनासो गरे। ‘प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ।
संसदभित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन’ उनले भने ‘बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन। संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिन्छ।’




प्रतिक्रिया