काठमाण्डु – अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरले रसुवामा आएको विनाशकारी आकस्मिक बाढीप्रति समवेदना व्यक्त गरेकी छन्।
परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन वार्ता गर्दै उनले विपद्को सामना गर्न नेपालले गरिरहेको प्रयासमा संयुक्त राज्य अमेरिकाको सहयोग रहने प्रतिबद्धता जनाएकी छन्।
वार्ताका क्रममा हुकरले बुधबार आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारको तर्फबाट गहिरो समवेदना व्यक्त गर्दै विपद्को सामना गरिरहेको नेपालप्रति ऐक्यबद्धता जनाइन्।
उनले विपद्सँग जुध्न, बेपत्ता व्यक्तिहरूको खोजी गर्न तथा अमेरिकी नागरिकसहित हराइरहेका व्यक्तिहरूको अवस्था पत्ता लगाउन नेपालले गरिरहेको प्रयासमा अमेरिकाको सहयोग रहने बताइन्।
परराष्ट्रमन्त्री खनालले हुकरलाई सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार अभियानबारे जानकारी गराउँदै सहयोगको प्रस्तावका लागि अमेरिकी सरकारलाई धन्यवाद दिए।
मन्त्री खनालले विपद्बाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको बताए ।




प्रतिक्रिया