काठमाण्डु – कोही रहरले त कोही बाध्यताले । नेपालमा हरेक दिन ऊर्जावान् युवाहरू विदेशिने गरेका छन् । स्वदेशमै रोजगारी र सम्भावना नदेखेर अधिकांश युवा विदेशिरहेका बेला दाङका अमर शाही स्वदेशमै स्वरोजगार बनेका छन् ।
दाङको लमही नगरपालिका–५ देउखुरी घर भएका अमर शाहीले ‘इन्फरमेसन म्यानेजमेन्ट’मा स्नातक गरेपछि विदेश जाने सपना देखे । २०७२ सालमा जापान, २०७३ सालमा अमेरिका र २०७३ सालमा अस्ट्रेलिया जाने प्रक्रिया अगाडि बढाएका उनी सफल भएनन् ।
विदेश जाने सपना पूरा गर्ने पहिलो प्रयास सफल नभएपछि उनले दोहोर्याएर विदेशकै सपनामा रुमल्लिनुपरेन । २०७४ कात्तिक २० गतेदेखि बीमा अभिकर्ताको लाइसेन्स लिएका उनले त्यसयता फर्केर विदेशको सपना देख्नुपरेको छैन ।
सन नेपाल लाइफ इन्स्इँेरेन्स कम्पनी लिमिटेडका वरिष्ठ बजार प्रबन्धक शाहीले बीमासँगको सहयात्रामा जोडिएपछि विदेशभन्दा बढी कमाइ स्वदेशमै गरिरहेका छन् । २५ वर्षको उमेरमा बीमा अभिकर्ता बनेका उनले हालसम्म बीमा क्षेत्रमै थुप्रै कीर्तिमान कायम गरेका छन् ।
बीमाको कमाइले नै उनले २०७५ फागुनमा सुन व्यवसाय सुरु गरेको सुम्झिए । ‘२०७६ सालमा घडेरी जोडे । २०७८ पुसमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)–२०२२ विजयी भएँ,’ उनले भने । अमेरिकाको क्लालिफोर्नियास्थित विश्वभर छरिएका एजेन्सीहरूको फोरमले एमडीआरटीका लागि योग्य घोषणा गर्छ । उनले एमडीआरटीको लक्ष्य पूरा गरेपछि उनी योग्य घोषित भएका थिए । ‘एमडीआरटीले प्रत्येक वर्ष लक्ष्य दिएको हुन्छ, यो बीमा अभिकर्ताहरूको सपना नै हुन्छ । सोही १ वर्षमा पूरा गर्नुपर्ने लक्ष्य मैले डेढ महिनामा पूरा गरें,’ उनले भने ।
बीमा क्षेत्रको आफ्ना सफलतामा उनले लमही उपशाखा प्रमुख पुष्पा योगी गिरी र बीमा सम्बन्धी गुरु तत्कालीन काठमाण्डु शाखा प्रबन्धक चुडामणि सुवेदीलाई सम्झिन्छन् । उनले कम्पनीको प्रशिक्षकको रूपमा पनि काम गरेका छन् ।

बीमा क्षेत्रको उपलब्धिका रूपमा उनले विदेश भ्रमणको अवसर पनि पाएका छन् । उनले दुबई र थाइल्यान्ड भ्रमणको मौका पाएको बताए । आन्तरिक भ्रमणअन्तर्गत उनले रारा, जिरी, पोखरा र चितवन जस्तै धेरै ठाउँको भ्रमण गर्ने अवसर पाएका छन् ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीभित्र २०७७ र २०७८ सालमा नेपाल प्रथम भएको उनले जानकारी दिए । ‘बीमा क्षेत्रमा लागेर राम्रो गर्न सकिन्छ भन्ने लागेको छ,’ उनले भने, ‘बीमा क्षेत्रको कार्यले नै मेरो व्यक्तिगत, पारिवारिक, सामाजिक सपना सबै पूरा भएका छन् ।’
हाल उनले बीमा क्षेत्रलाई मुख्य कार्यक्षेत्र बनाएर पारिवारिक व्यवसायका रूपमा सुन व्यवसायलाई अगाडि बढाएका छन् । उनी ३२ वर्षको उमेरमा स्वदेशमै सफल व्यवसायी बनेका छन् ।
‘मेरो बीमा क्षेत्रको काममा घरपरिवारको सपोर्ट छ, बीमा गर्ने व्यक्तिहरू खोज्न सबैले सघाउनुहुन्छ । आम्दानी पनि राम्रै छ,’ उनले भने, ‘हामी मानिस चेतनशील प्राणीमा पर्छाैं, बुझाउँदा नबुझ्ने होइन, तालिमहरू पर्याप्त नभएका कारणले बजारमा बीमा सम्बन्धी नकारात्मक कुराहरू फैलिएका घटना पनि सुनिन्छन्, जसले गर्दा नकारात्मक बुझाइ धेरै छ । तर बीमा गर्दा व्यक्तिगत रूपमा पनि फाइदा नै हुन्छ ।’

विक्रम संवत् २०४९ असोज २७ गते देउखुरीमा जन्मिएका उनको परिवार होटल व्यवसायमा थियो । २०६५ सालमा ‘प्लस टु’ पढ्न काठमाण्डु आएका उनले गोल्डेन गेट कलेजबाट होटल म्यानेजमेन्टको पढाइ गरेका थिए ।
उनी बीमा र सुन व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशील छन् । सन् २०२० बाट लायन्स क्लब अफ इन्टरनेसनलमा जोडिएका उनी लायन्स क्लब अफ काठमाण्डु सनलाइफ प्रोफोसनल सिटीका च्याप्टर पेर्सिडेन्ट छन् ।
‘युवाले देशमा निराश हुने र विदेश नै जानुपर्ने भन्ने छैन, देशभित्रै सम्भावना खोज्न सकिने क्षेत्रमध्ये बीमा क्षेत्र पनि एक हो,’ उनले भने, ‘हामीले मेहनत, लगन, निरन्तरता र आवश्यक कला सबै क्षेत्रमा चाहिन्छ । हामीले मेहनतबाट सफलता पाउन सकिन्छ ।’
प्रतिक्रिया