एमबाप्पेले पीएसजी छाड्ने !


एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)का युवा सुपरस्टार केलियन एम्बाप्पेले क्लब छाड्ने संकेत देखिएको छ।

विश्व विजेता फ्रान्सेली टोलीका महत्वपूर्ण सदस्य एम्बाप्पेले लिग वानको उत्कृष्ट खेलाडी अवार्ड ग्रहण गर्ने क्रममा दिएको अभिव्यक्तिले युरोपेली फुटबल तरंगित बनेको छ ।

उनले भनेका छन्, ‘पक्कै पनि धेरै निराशाका क्षणहरु यस सिजनमा बिताउनुपर्यो, तर यो फुटबलको एउटा भाग हो । यो मेरा लागि सबैभन्दा महत्वपूर्ण क्षण बनिरहेको छ । म यस्तो अवस्थामा पुगेको छु कि सम्भवतः मेरो जीवनमा पहिलो वा दोस्रो निर्णायक क्षण आएको छ ।’

‘मैले यहाँ धेरै सिकेँ, मैले सोच्न थालेको छु कि अब अधिक जिम्मेवार हुनुपर्छ,’ आफ्नो क्लब पीएसजीप्रति अनुग्रहित हुँदै एम्बाप्पेले भने, ‘पीएसजीले मलाई ठूलो जिम्मेवारी दिनेछ वा अन्य नयाँ यात्राको सम्भावना पनि छ ।’

आइतबार राति आयोजित समारोहमा एम्बाप्पेले लिग वानको उत्कृष्ट खेलाडीसहित लगातार तेस्रोपटक युवा खेलाडीको अवार्ड पनि जितेका छन् । एम्बाप्पेले विश्वकप पनि जितिसकेका छन् ।

पीएसजीका प्रशिक्षक थोमस टचेल एम्बाप्पेको यो अभिव्यक्तिबाट अचम्मित छन् । सन् २०१६ मा लोनमा पीएसजीमा अनुबन्ध भएका एम्बाप्पेले सन् २०१७ मा १६६ मिलियन युरोको सम्झौता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement